२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

मोरङका एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको घाँटी रेटी हत्या, नेत्रविक्रम चन्द समूहद्वारा स्विकार

मोरङका एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको घाँटी रेटी हत्या, नेत्रविक्रम चन्द समूहद्वारा स्विकार
अ अ+ अ-

विराटनगर । उत्तरी मोरङको पहाडी बस्तीमा मंगलबार एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ । घटनाको जिम्मा लिँदै नेत्रविक्रम चन्द समूहले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो । मंगलबार साँझ चन्द समूहको मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरीमा सुराकी गरेकाले उनीमाथि ‘कारबाही’ गरिएको जनाएको छ ।

मंगलबार बिहान श्रेष्ठलाई ४–५ जनाको समूहले घरैबाट अपहरण गरी करिब एक किलोमिटर टाढा पुर्‍याएर हत्या गरेपछि शव छाडेको पाइएको प्रहरीले जनाएको छ । दुवै हात अगाडि बाँधेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको जानकारी दिँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भने, ‘हत्यामा संलग्नको खोजी भइरहेको छ । संदिग्धको पहिचान हुन सकेको छैन ।’

गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यका अनुसार बिहान घरमा पुगेका पाँच जनाको समूहले श्रेष्ठलाई ओछ्यानबाटै अपहरण गरेर लगेका थिए । अपहरणको हल्ला गाउँमा फिँजिएपछि गाउँलेले खोज्दै जाँदा घरदेखि करिब एक किलोमिटर टाढा बर्खे र सेलेलिङबीचको जंगलमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनका अनुसार घटनास्थलमा भाँचिएका दुईरतीनवटा लट्ठी पनि फेला परेका छन् । घाँटी रेट्नुअघि श्रेष्ठलाई लट्ठीले हिर्काएको हुन सक्ने उनले बताए ।

मिक्लाजुङ क्षेत्रबाट विभिन्न समयमा सुरक्षा निकायले चन्द समूहका आधा दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरूको पक्राउमा श्रेष्ठले सुराकी गरेको समूहको आरोप छ । श्रेष्ठ नेपाल शिक्षक संगठन मोरङका साधारण सदस्य हुन् । प्रहरीले केही साताअघि त्यही क्षेत्रको उर्लाबारीबाट चन्द समूहका प्रदेश सेना प्रमुख भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको थियो । उनी द्वन्द्वका बेला तत्कालीन माओवादी सेनाको प्रथम डिभिजनअन्तर्गतको छिन्ताङ स्मृति ब्रिगेडको कमान्डर थिए । बोहरा पक्राउ परेपछि उनका कार्यकर्ताले श्रेष्ठलाई पटक–पटक धम्की दिएको स्रोतको दाबी छ ।

चन्द समूहले जारी गरेको विज्ञप्तिमा श्रेष्ठले पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएको र चेतावनी दिँदा पनि नसच्चिएको उल्लेख गरेको छ । विज्ञप्तिमा गत कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अपरेसन गराई काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको आरोप लगाएको छ । श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको चन्द समूहका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । हालको मिक्लाजुङ गाउँपालिका–१ साबिकको सिंगो रमिते खोला गाविस हो । रमितेको सिमाना इलाम र धनकुटासँग जोडिएको छ । भौगोलिक बनावट र सुरक्षा निकायको उपस्थिति नजिकै नभएकाले मिक्लाजुङको माथिल्लो भाग रमिते क्षेत्रमा चन्द समूहको गतिविधि बढ्दो छ । रमितेमा सुरक्षाकर्मी करिब ३० किलोमिटर टाढा उर्लाबारीबाट पुग्नुपर्छ ।

आसपासमा सुरक्षा निकायको उपस्थिति नभएकाले मंगलबारको घटना भएको हुन सक्ने त्यस क्षेत्रका प्रदेश सांसद कुलप्रसाद लिम्बूको भनाइ छ । करिब ३० किलोमिटर टाढा विकट क्षेत्रमा रहेको रमितेमा प्रहरी बिट राख्न आफूहरूले पटक–पटक गृह मन्त्रालय धाउँदा पनि सुनुवाइ नभएको उनले बताए । रमितेमा सुरक्षा निकाय र सरकारको उपस्थिति नभएकै कारण चन्द समूहको गतिविधि हरेक दिन बढ्दै गएको एक जनप्रतिनिधिले बताए । उनीहरूले यस क्षेत्रका हरेक जनप्रतिनिधि र विकास निर्माणका ठेकेदारसँग चन्दा माग्ने र नदिए धम्की दिने गरेको उनको भनाइ छ । उनका अनुसार मिक्लाजुङ क्षेत्र चन्द समूहका कार्यकर्ताको ‘सेल्टर’ नै बनेको छ ।

चन्दका कार्यकर्ताले गत वर्ष माघमा रमितेमा तीन दिन ‘सैन्य अभ्यास’ गरेको त्यस क्षेत्रका जनप्रतिनिधि बताउँछन् । उक्त अभ्यास सकिएलगत्तै शर्मा एन्ड भीमेश्वर निर्माण कम्पनीका तीनवटा एक्स्काभेटरमा उनीहरूले आगजनी गरेका थिए । कान्तिपुर दैनिक