७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाइप लाइनको काम अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको छ । रुटको पहिचानपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
चारआली—सिलगुडी पेट्रोलियम पाइप लाइन भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ । हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणको काम नै भइरहेको छ । ”

पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ । चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् ।

भण्डारण निर्माणका लागि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको निगमले जनाएको छ । गण्डकी प्रदेशमा भण्डारणको निर्माण कार्य सुरु भएको छ । अमलेखगञ्ज—लोथरको नक्साङ्कन हुँदै अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको नक्साङ्कन भइरहेको छ । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइप लाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पुर्याएको छ । निगमका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिवस्तरीय संयुक्त कार्य समूहलाई बुझाइने निगमले जनाएको छ ।
भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालित पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने हो । करिब ६५ किलोमिटर पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट विनियोजन गरेको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सम्पन्न गरेपछि चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको हो । सर्भे सकिएपछि संयुक्त कार्य समूहले डीपीआरलगायत आयोजनाको मोडालिटीका बारेमा काम गर्नेछ । पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई वृद्धि गरी ९० दिनसम्म पुग्ने भण्डारण बनाउन नेपाल आयल निगमले भण्डारण स्थलहरूको निर्माण प्रक्रिया अघि बढाएको छ । सात प्रदेशमा थप भण्डारण क्षमता बढाउने नीतिअनुसार निगमले काम गरिरहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । गण्डकी प्रदेशको पोखरामा पेट्रोलियम पदार्थको भण्डारण स्थल निर्माण सुरु भएको छ । अन्य प्रदेशमा जग्गा प्राप्ति र अध्ययन भइरहेको निगमले जनाएको छ । गोरखापत्र दैनिक