२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाइप लाइनको काम अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको छ । रुटको पहिचानपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
चारआली—सिलगुडी पेट्रोलियम पाइप लाइन भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ । हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणको काम नै भइरहेको छ । ”

पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ । चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् ।

भण्डारण निर्माणका लागि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको निगमले जनाएको छ । गण्डकी प्रदेशमा भण्डारणको निर्माण कार्य सुरु भएको छ । अमलेखगञ्ज—लोथरको नक्साङ्कन हुँदै अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको नक्साङ्कन भइरहेको छ । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइप लाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पुर्याएको छ । निगमका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिवस्तरीय संयुक्त कार्य समूहलाई बुझाइने निगमले जनाएको छ ।
भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालित पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने हो । करिब ६५ किलोमिटर पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट विनियोजन गरेको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सम्पन्न गरेपछि चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको हो । सर्भे सकिएपछि संयुक्त कार्य समूहले डीपीआरलगायत आयोजनाको मोडालिटीका बारेमा काम गर्नेछ । पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई वृद्धि गरी ९० दिनसम्म पुग्ने भण्डारण बनाउन नेपाल आयल निगमले भण्डारण स्थलहरूको निर्माण प्रक्रिया अघि बढाएको छ । सात प्रदेशमा थप भण्डारण क्षमता बढाउने नीतिअनुसार निगमले काम गरिरहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । गण्डकी प्रदेशको पोखरामा पेट्रोलियम पदार्थको भण्डारण स्थल निर्माण सुरु भएको छ । अन्य प्रदेशमा जग्गा प्राप्ति र अध्ययन भइरहेको निगमले जनाएको छ । गोरखापत्र दैनिक