७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका चरा पहाड उक्लन थाले- चराविद्



अ+ अ-

काठमाडौँ। तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताउनुभयो । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् । उहाँका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा. बरालले भन्नुभयो ।

यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ । यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिइसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ ताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चराले दोहोर्याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहोर्याएर उपत्यका भित्रेका छन् । अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ । पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् ।

तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ आइपुगेको छ । भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको छ । सुन्दर चरा आउन थालेपछि स्थानीय चराको फोटो खिच्न र चरा हेर्नकै लागि उहाँ जम्मा हुन थालेका छन् । विगत चार वर्षदेखि मनोहरा खोलामा चरा हेर्न थालेका फोटोग्राफर सञ्जय श्रेष्ठले यसअघि कहिल्यै नदेखिएका चरा मनोहरा खोलामा देखिन थालेको बताउनुभयो ।

“कति राम्राराम्रा चरा आउँछन्, हेर्न र फोटोमा कैद गर्न हरेक दिन मनोहरा पुग्छु”, उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार नेपालका तराई भेगसँगै साइबेरिया र रुसबाट पनि यहाँ फिरुन्ते चरा आउने गरेका छन् । चराविद् बरालका अनुसार कोभिड सङ्क्रमणका कारण मानिसको जमघट उपत्यकामा कम हुँदा पर्यावरणमा परेको सकारात्मक प्रभावले यसरी उपत्यकामा चरा आउन थालेको हो । जलवायु परिवर्तनको असरले काठमाडौँको तापक्रम जाडोमा पनि तातो हुन थालेकाले पनि तराईका चरा आउनसक्ने वातावरण सिर्जना भएको उहाँको ठम्याइ छ । खोला तथा सिमसार छेउमा काँसघारी बन्नु र माथितिर सल्लाको वन हुनाले पनि चराको आकर्षण यस क्षेत्रमा बढेको अनुमान उहाँ गर्नुहुन्छ । काठमाडौँको मनोहरा फाँटको एक हजार मिटर आसपासमै अहिले धेरै सुन्दर चरा देखिने स्थान बनेको छ । गोरखापत्र दैनिक