२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी



अ+ अ-

भोजपुर । भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।

हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताउनुभयो । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उहाँको भनाइ छ । “सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,” उहाँले भन्नुभयो, “अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन ।”

स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताउनुभयो । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उहाँको भनाइ छ ।

“सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,” उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ ।” वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो ।

हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान सम्पन्न गरेको उहाँको भनाइ छ । स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । “मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,” वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँका मुख्य सडकहरु प्राय: ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।”

सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरु करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ । नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो । रासस