२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताउनु भयो । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्षको मनसुन शुरु भएको दिन अर्थात २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटनाहरु भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन । र, ४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायको नोक्शानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुलहरु बगेका छन, भत्केका छन । र २ वटा सरकारी भवनहरु भत्किएका छन् । यसै क्रममा ४ हजार ४ परिवारहरु बिस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकि आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन । विपदपछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्दार गर्न सकिएको छ ।

अधिकांश विपदका घटनामा नेपाली सेना समेत खोज र उद्दारमा खटिएको छ । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रवन्ध गरिएको छ । मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । र बाँकि परिवार राहत रकम पाउने प्रक्रियामा रहेका छन् । त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ । र नेपाल सरकारले पछिल्लो समयमा बेपत्ता भएका मानिसलाई पनि पत्ता लागेन, खोजी भएन भने त्यस्ता बेपत्ताका परिवारजनलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णय अनुसार वेपत्ता भएका परिवारहरु पनि राहत रकम पाउने प्रक्रियामा रहेका छन् । घाइते १४४ जनामध्ये ५ जना उपचाररत छन् । बाँकि सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गईसकेका छन् । ५ जनाको उपचार भईराखेको छ । घाइतेको उपचार प्रबन्धमा तीन वटै तहको सरकार खटेको अवस्था छ । यसैबीच नौ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ

। विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यही असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझि लगेका छन् भने ५ जनाको पहिचान हुन सकेको छैन । बाँकि ४३ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल समेतले खोजी कार्य गरिराखेको स्थिति छ । यसैबीचमा पछिल्लो समयमा सरकारले मित्र राष्ट्र भारतलाई पनि खोजी कार्यमा मद्दत गर्नका लागि हामीले आग्रह गरेका थियौं । त्यस अनुसार भारतीय राष्ट्रिय विपदा मोचन बलका मानिसहरु आवश्यक सामग्रीसहित आएका छन् । र हाम्रो र भारतबाट आएको एमडीआएफको टोलीले संयुक्त रुपमा खोजी कार्य गरिराखेको छ । आज बिहान साँढे ८ बजेबाट सिमलतालदेखि घुमाउने केराबारीसम्म खोज तथा उद्धारको कार्य पुन: शुरु गरिएको छ । उक्त खोजी कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’

गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराउनु भयो ।