२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि कर्ममा रमाउँदै प्रसाईं



अ+ अ-

सुन्दरबजार । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।

विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नुपर्नेछ । लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उहाँले दिनुभएको छ । अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ । “आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ”, प्रसाईं भन्नुहुन्छ ।

राइनास नगरपालिका–५, तीनपिप्लेमा कृषि कर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उहाँले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् । जङ्गल र बुट्यानले ढाकिएको जग्गा एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उहाँले ५० लाख रुपैयाँजति खर्च गर्नुभएको छ ।

अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र रु १२ लाख आम्दानी गरेका प्रसार्इंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाउनुभएको छ । धानपछि उहाँले खर्बुजा खेती गर्नुहुन्छ । खरबुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उहाँले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उहाँको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उहाँले भन्नुभयोे ।

लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उहाँको भनाइ छ । राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उहाँ भन्नुहुन्छ ।

विगत १८ वर्षदेखि राईनासमा आउनुभएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खरबुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आउनुभएको छ । हेर्दा नै लोभ लाग्ने उहाँको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाउनुहुन्छ ।

आफ्नै कृषि कर्ममा हेरचाह गर्दै निरन्तर लागिरहेका प्रसाईंले स्थानीय तहबाट कुनै किसिमको सहयोग प्राप्त गरेका छैनन् । कृषि ज्ञान केन्द्रले सिँचाइका लागि पाइपलाइन, मल्चिङ प्लाष्टिक र मलखादका लागि यस वर्ष रु चार लाख बराबरको सहयोग गरेको छ । कृषि फार्ममा बङ्गुरपालन गरेका प्रसार्इंले गत वर्ष रोगका कारण बङ्गुर मरेपछि अहिले त्यसलाई थाति राख्नुभएको छ । त्यहाँ उहाँले उत्पादन गरेको अकबरे खुर्सानी, खर्बुजा र अन्य मौसमी तरकारी उत्पादनका लागि नियमित पाँच जनालाई रोजगारी दिनुभएको छ । त्यसबाहेक दैनिक ज्यालादारीमा समेत काम दिने गर्नुभएको छ ।

केही गरौँ भन्ने उत्साह भएका युवालाई कृषिमा ठूलो लगानी गरेको सरकारी तवरबाट सानो सहयोग दिने हो भने युवालाई यही विदेशकै जस्तो कमाई गर्न सकिन्छ भन्ने उहाँबाट बुझ्न सकिन्छ । स्थानीय तहहरुले विभिन्न शीर्षकमा बर्सेनि अनुत्पादक क्षेत्रमा बाँडिरहेका लाखौँ रुपैयाँको प्रतिफल आउन नसकेको भन्दै उहाँ त्यसलाई कृषि क्षेत्रमा लगाउन सकिएमा तरकारी र फलफूलमा आत्मनिर्भर हुन सकिने बताउनुहुन्छ । रासस