२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौधर नदी धार परिवर्तन गरी बस्तीमा



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् ।

सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन् । बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताउनुभयो ।

“अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उहाँले भन्नुभयो, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठूलो क्षति हुने भय छ ।” बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ । बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ । चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन् ।

केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ । यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताउनुभयो ।

“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भन्नुभयो, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी–२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ ।

त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन । तीन दिनदेखि बेलौरी नगरपालिका–१० भुडाबाट बेलौरी–८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ । बेलौरी नगरपालिका–१० मा चार सय र वडा नं ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन् ।

बेलौरीका ओमप्रकाश पन्तले तत्काल बस्ती पसेको ठाउँमा मर्मतकार्य नगरिए दुई पालिकाका धेरै वडा थप प्रभावित हुने बताउनुभयो । उहाँले भत्किएका संरचना निर्माणमा स्थानीयदेखि सङ्घीय सरकारलाई सहयोगका लागि गुहारेका बताउनुभयो । तीन वर्षअघि बेल्डाँडी गाउँपालिका–४ गौडी खल्लादेखी–५ मा रहेको भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि पहल भए पनि सुनुवाइ भएन । सिँचाइ आयोजनाले शिवनगर क्षेत्रमा २०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अहिले समस्या भएको छ ।
त्यसैगरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको बताउनुभयो । “नहरको अवस्था हेर्दा तत्काल बन्लाजस्तो छैन”, उहाँले भन्नुभयो, “५० मिटर नहरको भाग नदीले बगाएको छ भने एक सय २० मिटर नहरमा क्षति पुगेको छ ।”

सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ । बाढीका कारण मूल नहरमा क्षति पुर्याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ । रासस