८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामदार मालिक बनेपछि….



अ+ अ-

चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । 

गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका ६ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो । 

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ । 

उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ । 

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।” 

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ । 

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पुर्‍याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”

कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै  निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।