११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण
अ अ+ अ-

मर्चवार । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”

सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फुर्तिलाई बढावा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा लाभ पु(याउँछ ।

कुस्ती एक अनुशासनको खेल हो । यो मानिस(मानिसबिचमा लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखाडा’ भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ”, पहलवान राम किसुन यादवले भन्नुभयो, “यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”

कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिताको पालनालाई समेट्छ ।

“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पु¥याउँछ”, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, “आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”

दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तानलगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायणलगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”

नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानको लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजङ्ग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गर्नुभएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न वलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई–३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनःरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुभयो । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिनुहुँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनुभएको छ ।

पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रुर बल हावी थियो ।” उहाँका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिनुभयो । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्षेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।

तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नुभएको थियो ।

राजेन्द्रले पुरस्कार पाउनु पहिले उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१ मा नवलपरासीका पहलवान रामकिसुन यादवले प्रतियोगिता जित्नुभएको थियो । विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देहीमा सरकारीस्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनुभयो ।

हुन त तराई–मधेसका विभिन्न स्थानमा कुस्ती प्रतियोगिता अझै प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीयस्तरको भए पनि नेपाल र भारतका खेलाडीलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमजोर हुँदा युवामा यो खेलप्रतिको रुचि घटेको देखिन्छ ।

“शारीरिक स्फुर्तिका कारण पहिला कुस्ती र पहलवानको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानलाई उपयुक्त मानिन्थ्यो”, लुम्बिनी प्रदेशका पूर्वशिक्षा तथा खेलकुद विकासमन्त्री वसीउद्दीन खाँले भन्नुभयो, “समयसँगै यो खेल र पहलवानको सङ्ख्या घट्यो । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिसबाहेक आम्दानीको स्रोत छैन ।”

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकाले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुनसक्छ भन्ने विश्वास छ ।” रामविकास चौधरी/रासस