• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

आँखै अगाडि खरानी बने सम्पत्ति र सपना



तम्घास : गुल्मीको इस्मा गाउँपालिका-२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाउनुभएको थियो । जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याउनुभएको उहाँको बिहेका गर-गहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उहाँले सुरु गर्नुभएको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।

हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले” उहाँले भन्नुभयो, “आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।” आफूहरु बल्लतल्ल  घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गर्नुभएको थियो । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उहाँ बिहे भोजको निम्तो गर्न बँेसी झर्नुभएको थियो । सोही समयमा जङ्गलबाट आएको आगोले उहाँको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

“बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,” उहाँले भन्नुभयो, “मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।” आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहनुभएको छ । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी जानुभएको थियो । त्यही बेला गाउँमा लागेको आगोले उहाँको घर पनि बाँकी राखेन । “बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,” कुँवरले भन्नुभयो, “आगोले मन छियाछिया भएको छ ।” सिङ्गो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उहाँको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताउनुभयो । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताउनुभयो ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिङ्गो गाउँ सखाप भएको बताउनुभयो । “एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,” उहाँले भन्नुभयो, “धन्न मानवीय क्षति हुन पाएन ।”

आगालगीबाट पीडित उहाँहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् । सिङ्गो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

गाउँपालिकाद्वारा सहयोगको अपिल

इस्मा गाउँपालिकाले आइतबार साँझ विज्ञप्ति जारी गरी आगलागी पीडितलाई सहयोगको  अपिल गरेको छ । इस्मावासी आगलागीबाट पीडित भएको भन्दै गाउँपालिकाले सहयोगका लागि सबैसँग अपिल गरेको हो । गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब र कर्मचारीहरुले एक महिनाको पाँच प्रतिशत तलब आगलागी पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

सोही क्षेत्रका प्रदेश सांसद डिल्लीराज भुसालले बस्तीको पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो । गुल्मी जिल्लाभरमा आगलागीबाट ३७ घर र ४६ गोठ गरी ८३ घरगोठ जलेका छन् ।रासस