१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता



अ+ अ-

कीर्तिपुर (काठमाडौँ): त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा  सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा वाङ डिङह्वाबीच यससम्बन्धी सम्झौतामा आज हस्ताक्षर भयो ।

सम्झौताअनुसार त्रिवि र बेइजिङ्ग फरेन स्टडिजबीच विद्यार्थी, प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारी एकअर्कोमा आदानप्रदान गर्नेछन् । दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धानमा सहकार्य गर्ने तथा शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुवै विश्वविद्यालयबीच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गर्न सकिने पनि सम्झौतामा उल्लेख छ । सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुनेछ ।

त्यसअवसरमा बेइजिङ्ग फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा डिङह्वाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्यसम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग बेइजिङ फरेन स्टडिजले यसप्रकारको सम्झौता गरिसकेको उहाँले बताउनुभयो ।

प्राध्यापक डा डिङह्वाले दुवै विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैका भाषा विभागबीच प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गरिनुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानका क्षेत्रमा समेत दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने उहाँको भनाइ थियो ।

त्रिवि उपकुलपति बरालले दुई विश्वविद्यालयबीच आ–आफ्नो देशका मौलिक र परम्परागत ज्ञानको आदानप्रदान, नेपाल–चीनबीच सीमावर्ती क्षेत्र अर्थात् हिमाली भेगको प्राज्ञिक अध्ययन र हिमाली क्षेत्रमा प्रख्यात उपचार पद्धति आम्चीको थप बिस्तारका लागि प्रयत्न गर्ने पनि सम्झौतामा उल्लेख छ ।

त्रिविको मानविकी संकायका डिन प्राध्यापक डा कुशुम शाक्यले बेइजिङ फरेन स्टडिज विश्वविद्यालय र त्रिविबीच भएको सम्भौता अक्षरश: लागू हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका तर्फबाट अध्यक्ष डिङह्वा, एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक हे जेङ्ग र त्रिविस्थित स्कुल अफ एसियन स्टडिजका निर्देशक जिङ्ग युन लगायतको उपस्थिति थियो ।