२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर



अ+ अ-

काठमाडौं । टौदह काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । काठमाडौंको केन्द्रबाट सात किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा रहेको टौदह कीर्तिपुर नगरपालिका वडा नं. १५ मा पर्दछ । नेवारी त: दहको अर्थ ठूलो पोखरी हो । यसको लम्बाइ ५ सय मिटर र चौडाइ ४ सय मिटर छ । यसको गहिराइ सुक्खा याममा ६ मिटर हुन्छ ।

३८ जातका बोटबिरुवा ३६ जातका कीरा र १ सय १६ प्रकारका पंक्षी यस क्षेत्रमा रहेका हुँदा टौदह जैविक अनुसन्धानका लागि वरदान सावित भएको छ । टौदहलाई ललितपुरको जात्रा आख्यान कीर्तिपुरको सभ्यतास्थल र काठमाडौँको सिमाना सम्पदा पनि भन्ने गरिन्छ ।

आख्यानअनुसार मञ्जुश्रीले उपत्यकाको पानी ह्रासिकाप चोभार छेदन गरी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना गरिदिएछन् । तर बोधिसत्व मञ्जुश्रीले आह्वान गरी कर्कोटक नागराजलाई टौदहमा विराजमान गराई शान्ति कायम गराएको विश्वास गरिन्छ । उनै नागराजकी रानी आँखा दुख्ने रोगबाट ग्रस्त हुँदा ललितपुर निवासी एक ज्यापूले यो दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको बताइन्छ । त्यस घटनाबाट खुसी भएका नागराजले उपहारस्वरूप नवरत्न जडित भोटो ज्यापू जातिको भित्री पोशाक उपहार पठाइदिएछन् ।

 

किम्बदन्ती अनुसार नै ज्यापूले भोटो फुकालेर खेतमा काम गरिरहेको बेला आँखा छलेर एक ख्याक (नराम्रो आत्मा भएको मानव)ले ज्यापूको भोटो चोरी भागेछ । केही दिनपछि आफ्नो भोटो लगाई आइरहेको ख्याक र ज्यापूबीच जम्काभेट हुँदा घमासान युद्ध भएछ । आपसमा लडिरहेका ख्याक र ज्यापूलाई देखेपछि रातो मच्छिन्द्रनाथ बुंगद्योले दुवैलाई छुट्याएर भनेछन्– प्रमाणसहित भोटो लिन आउनू । जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहनेछ ।

ख्याकको त भोटो नै थिएन । उसले त्यसको पृष्ठभूमि जान्ने कुरै भएन । ज्यापूले पनि टौदहमुनि नागराजसम्म पुग्ने बाटो नै थाहा पाएनछ । त्यसै बेलादेखि प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको जात्रामा जावलाखेलको च्वासका नर्नीमा भोटो सुरक्षित छ है भनी देखाउने परम्परा छ । राष्ट्रप्रमुख र जीवित देवीकुमारीको समुपस्थितिमा भोटो प्रदर्शन गर्ने प्रचलन कायम छ ।