१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

छोनछिन (चीन): उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।” आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उहाँले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।

उहाँले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गर्नुभयो । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताउनुभयो ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताउनुभयो । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबीच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताउनुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाउनुभयो ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बताउनुभयो । पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उहाँले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

नेपालमा चिनियाँ नागरिकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गर्दै उहाँले छोनछिन सहर र नेपालको भरतपुर महानगरसँग भगिनी सम्बन्ध राख्न चाहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि छोनछिन सहरको भ्रमण गर्नुभएको स्मरण गर्दै उहाँले उच्चस्तरमा हुने भ्रमणले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।

छोनछिन स्टेट गेस्ट हाउसमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उहाँहरूबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको थियो । छोनछिन चीनको पश्चिम भागमा पर्छ । छोनछिन चीनकै धेरै जनसङ्ख्या भएको ठूलो सहर हो । यहाँको जनसङ्ख्या तीन करोडभन्दा बढी छ ।

अशोक घिमिरे/रासस