१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बागलुङमा बुट्टेनली बचाउने वसन्त

बागलुङमा बुट्टेनली बचाउने वसन्त
अ अ+ अ-

ढोरपाटन । कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो । बागलुङ भन्नेबित्तिकै बुट्ट्ेनलीको सम्झना गर्थे मानिसले । अहिले त्यही कुनै बेला बागलुङको पहिचान बनेको बुट्टेनली आफ्नै पहिचान गुमाएको अवस्थामा छ । निगालोको नलीमा विभिन्न आकृति कोरेर आकर्षक सामग्री बनाउने चलन हराएको र चलनसँगै बुट्टेनली नै हराउने अवस्थामा छ ।

बागलुङ नगरपालिका–३ नौबिसेटोलका वसन्तजङ्ग राजभण्डारी बुट्टेनलीका अहिलेका एक्ला बृहस्पति हुनुहुन्छ । पहिलेपहिले गाउँघरमा पाका पुस्ताका व्यक्तिले निगालोमा फूल भरेको देख्न सकिन्थ्यो । अहिले फूल भर्ने त परको कुरा निगालोबाट डोको डाली बुन्ने परम्परा पनि सकिँदै गएको छ ।

करिब ५७ वर्षीय वसन्त अहिले एकमात्रै बुट्टेनलीका कलाकार हुनुहुन्छ । उहाँले विभिन्न समयमा तालिम दिए पनि अहिलेसम्म कसैले पनि यो क्षेत्रलाई पेसाका रूपमा अगाडि बढाएका छैनन् । उसो त वसन्त आफैँले पनि यसलाई पेसा बनाउन सक्नुभएको छैन । उहाँ धवलागिरि विशेष आवासीय बहिरा विद्यालयमा अध्यापन गराउनुहुन्छ । विसं २०३९ मा विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दैगर्दा उहाँले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट बुट्टेनलीसम्बन्धी तालिम लिनुभएको थियो । उहाँ त्यसपछि निरन्तर बुट्टा भर्ने काम गर्दै आउनुभएको थियो ।

“त्यसबेला म ८ कक्षामा पढ्थेँ, मेरो बुवा र काका काजी रोशनले मलाई १५ दिनको तालिममा जान भन्नुभयो, मेरो चित्र कोर्ने कला राम्रो भएकाले त्यहाँ जान जोड गर्नुभएको थियो”, वसन्तले भन्नुभयो, “त्यतिबेला कृष्णप्रसाद श्रेष्ठ भन्ने कार्यालय प्रमुख हुनुहुन्थ्यो, उहाँले तालिम दिलाउनुभयो, निकै उत्साहका साथ सिकेका थियौँ, अहिले पनि फुर्सदमा कोर्ने गरेको छु ।”

त्यतिबेला १२ जनाको समूहले उक्त तालिम लिएका थिए । उहाँहरूको गुरु हुनुहुन्थ्यो चाङ्गुनारायण गुभाजु । उहाँ झण्डै सय वर्षको हाराहारी बाँचेर बुट्टेनलीलाई नै मुख्य पेसा बनाउनुभएको थियो । त्यसपछि यसलाई पेसाका रूपमा अँगाल्ने कोही भएन । त्यो बेला वसन्तसँगै तालिम लिएका अन्य ११ साथी अहिले कसैले पनि यो काम गर्दैनन् । वसन्तले पनि फुर्सदमा यो काम गर्दै आउनुभएको छ ।

बुट्टेनलीका लागि लेकमा पाइने गजिङको निगालो सबैभन्दा राम्रो हुन्छ । काटेर अलिकति सुकेपछि हल्का सेतो हुने भएकाले चित्र कोर्न पनि सजिलो हुन्छ र कीरा नलाग्ने भएकाले दीर्घकालीन पनि हुन्छ । वसन्तले निगालोमा राष्ट्रिय विभूतिका चित्र, विभिन्न चराचुरङ्गी र जनावरका आकृतिक कोर्ने गर्नुहुन्छ । त्यतिमात्रै होइन, उहाँले धार्मिक र सांस्कृतिक चित्र पनि बनाउनुहुन्छ ।

“अरु सबै कता गए के गर्छन् केही थाहा छैन, त्यो बेला तालिम लिएकामध्ये ममात्रै अहिले यो काम गरिरहेको छु, मेरो पनि मुख्य काम विद्यालयमा पढाउने नै हो, सामान्यदेखि अलि विशेषखालका चित्र पनि नलीमा कोरिन्छन्, नलीमा थरिथरिका बुट्टा भर्ने भएका कारण नै यसको नाम बुट्टेनली राखिएको हो”, उहाँले भन्नुभयो, “रामायण र कृष्णलीला पनि नलीमा उतार्ने गरेको छु, मागअनुसार चित्र कोरेर तयार पार्ने गरेको छु ।”

लामो समयदेखि बुट्टेनली बनाउँदै आए पनि उहाँ आफँै भने गजिङ पाइने ठाउँमा पुग्न सक्नुभएको छैन । बागलुङको बोबाङ, निसीखोला, राजकुट, जलजला गलकोटको माथिल्लो भेगमा राम्रो गजिङ पाइने गरेको उहाँको भनाइ छ । राम्रो निगालेका रूपमा भकुण्डे र मालिका मालिङ्गो पाइने भए पनि त्यसमा कीरा लाग्ने भएकाले टिकाउ नहुने वसन्त बताउनुहुन्छ ।

पछिल्लो समयमा हस्तकलाको कुनै मूल्य नभएकामा उहाँ चिन्तित देखिनुहुन्छ । वसन्तले शिक्षण पेसाबाट अवकाश लिन अब तीन वर्षमात्रै बाँकी छ । शिक्षण पेसाबाट अवकाश लिएपछि तालिम दिएर आफूजस्तै हस्तकलाका कलाकार उत्पादन गर्ने उहाँको चाहना छ ।

“नलीमा बुट्टा भर्ने कुरा एकदमै गाह्रो विषय हो, आँखा तेजिलो हुनुपर्छ, आँखा र शरीरले साथ दिएसम्म यही काम गर्छु र सकेसम्म नयाँ मान्छेलाई तालिम दिएर आफूजस्तै कलाकार बनाउँछु भन्नेछ”, उहाँले भन्नुभयो, “विगतमा पनि केही तालिम दिएको छु, तर त्यसबाट तालिम लिने अनि अर्को क्षेत्रमा जाने गरेकाले कुनै उपलब्धि भएन, यो बागलुङको ऐतिहासिक कुरा भन्ने ज्ञान नभएर हो कि किन हो तालिम पनि प्रभावकारी हुनसकेका छैनन् ।”

उहाँले बहिरा विद्यालय, बागलुङ कारागार र काठमाडौँ तथा केही समय अगाडि हस्तकला सङ्घबाट यो तालिम अरुलाई पनि दिने गर्नुभएको छ । तालिम लिएका कसैले पनि यसलाई अगाडि बढाउन नसकेकामा उहाँलाई ठूलो चिन्ता छ । बुट्टेनली निकै गाह्रो पेसा भएकाले पनि यसप्रति आकर्षण कम भएको वसन्तको बुझाइ छ ।

पहिले आकर्षक बुट्टा भरिएका नलीबाट बाँसुरी, तमाखुको नली र लठ्ठीका रूपमा पनि प्रयोग गर्ने चलन थियो । अहिले यी सबै चलन हराएर गएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रले कलाकारलाई बचाउने र हस्तकलाको व्यावसायीकरण गर्न सहयोग गर्ने हो भने बागलुङको पहिचान बनेको बुट्टेनली जीवन धान्ने माध्यम बन्ने वसन्तको विश्वास छ । रासस