३ पुष २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकसाथ तीन चलचित्र प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ ।

रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताउनुभयो ।

“चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ”, अभिनेत्री थापाले भन्नुभयो, “मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।”

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गर्नुभएको छ । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेख्नुभएको छ ।

आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गर्नुभएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गर्नुभएको छ ।

चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताउनुभयो । “हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।”

अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताउनुभयो । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भन्नुभयो ।

प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।”

चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेख्नुभएको हो ।