५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

लासहरुको लाइब्रेरी

लासहरुको लाइब्रेरी
अ+ अ-

दिउँसोको १ बज्नै लागेको थियो ।अफिसमा यताउति छरिएका कामहरूको चाङमाथि झोक्राइ रहेका बेला राम सरको फोन आयो ।‘उमा जी अचेल के पढ्दै हुनुहुन्छ ? ’

भन्न त भनिदिउँ जस्तो लागेको थियो यो पढ्दै छु त्यो पढ्दै छु तर भनेँ ‘के पढ्न भ्याउनु र ! दिक्क लाग्दा फाइलहरूका लाइव्रेरीमा हराइ रहेकी छु ।’लाइव्रेरी शब्द सुने पछि उहाँले केही सम्झेझैँ गरी भन्नु भयो ।……‘ल हिँड्नुस् मसँग । म तपाइँलाइ यस्तो लाइव्रेरी देखाउँछु जसलाइ अधिकांश मान्छेले आजसम्म देखेका छैनन् ।’

‘कस्तो लाइव्रेरी हो? पहिला भन्नुस् अनि मात्र जाने बारे सोचुँला ।’उत्तर आयो ‘लासहरूको लाइव्रेरी.’अर्थात शव सङ्ग्रहालय । आम्मै !सुन्दै आङ जिरिङ्रग भयो । रैाँहरू काँपेर उठे । मैले धेरै अघि एउटा हिन्दी फिल्म हेरेकी थिएँ ।रहस्यमय र डरलाग्दो ।नायिकाले सरासर आफ्नो कोठामा पसी दराजको ढोका खोल्दा भित्रबाट एउटा लास विस्तारै उसमाथि खस्छ । मैले अहिले ठ्याक्कै त्यही सम्झेँ । जीउ सिरिङ्ग भयो। भनेँ, ‘अहँ, मलाइ डर लाग्छ ।’,‘म मान्छेलाइ हेरेरै चिन्छु, तपाइँ डराउने मान्छे नै होइन । हेर्नुस् जीवनलाई नजिकबाट चिन्न मृत्युलाइ हेर्नु पर्छ । आफ्नै मृत्यु त हेर्न सकिन्न तर अर्काको मृत्यु भने अवश्य हेर्न सकिन्छ ।’कुरा सोह्रै आना सही हो ।

महाराजगञ्जस्थित अफिसबाट निस्केर म सडक पेटी पेटी हुँदै दक्षिणतर्फ बढेँ ।शिक्षण अस्पतालको गेटबाट ओ पि डी विभाग तिर नछिरी सिधै अगाडि बढ्दा म डराइ रहेकै थिएँ ।सडक छेउमा फूलेका फूलहरू नियाल्दै म मनमोहन.कार्डियो भास्कुलर सेन्टरतर्फ सरासर बढेँ ।छात्रावास भवन कटेर बाँयातर्फ अलिक अगाडि लम्केपछि अनाटोमी हलको गेटमै राम सरलाई भेट्दा म केही ढुक्क भएँ ।सरले हातको इसाराले अगाडितिर संकेत गर्नु भयो र सरासर पहिलो तलाको भित्रपट्टि रहेको गोप्य कोठा (जसलाई डी सेक्सन हल भनिदो रहेछ) तर्फ लिएर जानुभो ।यो विशेष कोठा थियो ।चिकित्सक तथा चिकित्सा सम्बन्धि व्यक्तिहरू बाहेक अरूलाई त्यहाँ पस्ने अनुमति थिएन । तिन चार सिँढी तल ओर्लेपछि त्यहाँ एउटा फराकिलो कोठा देखियो । राम सरसँग भेट हुने बित्तिकै देखि उहाँले मलाई वरिपरिका भवनहरूमा के कस्ता काम हुन्छन् भन्नेबारे विस्तारमा बताइ रहनु भएको थियो तर मेरो ध्यान त्यतातिर थिएन ।एम वि वि एसका विद्यार्थीको यस प्रयोगशालालाई परैबाट दर्सन गर्ने वित्तिकै मभित्र जोडजोडले आत्तेसको हुरी चल्न थालिसकेको थियो । एक जना लाइव्रेरियन लासहरूका खात मिलाउन व्यस्त थिए । लासलाई स्टिलको बेडमा राखी गुडाउँदै लगेर निश्चित ठाउँमा राख्ने तिनको काम रहेछ । मेरो आँखा नजिकै रहेको एउटी महिलाको लासमा अडियो । सर्वाङ्ग नग्न यस लासको स्तनमा मात्र चारपाँच ठाउँ चिरेर सिलाइएको थियो । लाग्थ्यो, विद्यार्थीले भर्खर मात्र स्तन बारे अध्ययन गरेका होलान् । मलाई लाज पनि लाग्यो ।

भित्र पुगेपछि मलाई कुनै दन्त्य कथामा वर्णित रहस्यमय स्थानमा पुगेको अनुभव भयो । पाकेका अम्बा जस्ता ठाउँ ठाउँमा पुट्ट पुट्ट सुन्निएका, पोटिला, फिका पहेँला रङ्गका ती लासहरू प्लास्टिकका खेलैानाझैँ देखिन्थे । मैले सोधेँ , ‘सर यी साँच्चिकै लास हुन् त ? ‘छोएर हेर्नुस् त ।’ सरले भनेपछि म अघि बढेँ । बाफरे बाफ! ती साँच्चै लास नै थिए । निर्वस्त्र लासहरूको बिस्कुनतिर नियाल्दै सरले भन्नु भो, ‘यही हो मान्छेको वास्तविकता । विना कुनै ढाकछोप विना कुनै गोपनीयता ,जे छ उदाङ्ग र प्रस्ट । मान्छेको सही परिचय उ मान्छे हुन्जेल खुल्दैन, जब खुल्छ उ मान्छे रहँदैन ।’

आफ्नो सुरमा काम गरिरहेको लाइब्रेरियन बडो उत्साहित हुँदै आयो र भन्यो । ‘म्याडम यी सबै बाकसमा लासहरू छन् । हेर्नुहुन्छ ?’ मैले विनम्रताका साथ भने ‘भैगो, पर्दैन ।’

ठाउँ ठाउँ चिरेर सिलाइएका निर्वस्त्र लासहरूले एकैचोटि विभिन्न अनुभूति पैदा गर्थे । भयानक, वीभत्स, कारूणिक । मलाई अघि नै देखि लाज लागिरहेको थियो ।यो निकै अफ्ठ्यारो क्षण थियो तर डाक्टरका साथमा जीवन पढ्दै थिएँ ।लज्जा ,धक ,सङ्कोचलाई यहाँ कुनै स्थान थिएन ।त्यसैले आफ्ना आँखाहरूलाई लासको कम्मरमाथि मात्र एकोहोर्याएर मैले आफैँलाई कन्भिन्स गर्ने कोसिस गरिरहेँ ।

मैले घाँटीमा स्टेथेस्कोप झुण्ड्याएर नबुझिने अक्षरमा प्रेस्किप्सन लेखिरहेका वा घुँडासम्म ढाक्ने सेतो कोट पहिरेर अस्पताल परिसरमा दगुरिरहेका डाक्टर मात्र देखेकी थिएँ ।यसका पछाडिपट्टि रहेको तपस्या आज मात्र देख्न पाएँ ।कोही चिर्दै छन् ,कोही सिउँदै छन् ,कोही ध्यान दृष्टिले नियाल्दै छन् , कोही गाँठी कुरा पत्ता लाए झैँ हतार हतार कागजमा टिप्दै छन् । तर छन् त सबै मग्न ,सबै मैान ।

शरीरमा रगत बगुन्जेल मात्र मान्छेको रङ्ग छुटिँदो रहेछ ।मरेपछि सबै उस्तै ।एकै नासका पहेँला लासहरू । स्वार्थ ,लालसा ,अभिमान सबै कुरा यही एक मुठ्ठी सासमा नै अडेको रहेछ । म एकै छिन दार्शनिक बन्न खोजेँ ।

यति धेरै लासहरू कसरी प्राप्त भए होलान् ?मलाई कैातुहल भयो ।मेरो जिज्ञासामा सरले भन्नु भयो ,’यी बेवारिसे लास हुन् ।पोष्ट मार्टम पछि कसैले नलगेका लासहरू ।धेरै विद्यार्थीलाई डाक्टर बनाउन यी लासहरूको ठूलो योगदान छ ।’

कस्तो अचम्म !बाँचुन्जेल कसैले सोधी खोजी नगरेपनि मरेपछि खुबै खोजिँदा रहेछन् यिनीहरू । यिनका प्रत्येक अङ्ग प्रत्यङ्गमाथि गम्भीर अनुसन्धान हुने रहेछ । उफ! कस्तो उदेक! जीवन अर्थपूर्ण कि मृत्यु ? यो देख्दा मलाई पनि मरेपछि कसैले नखोजिदिए हुन्थ्यो भन्ने लाग्यो ।खरानी भएर धुँवासँगै उडिजानु भन्दा त बेवारिसे भएर प्रयोगशालामा सजाइनु कता हो कता उत्तम होइन र ?

स्टिलका बेडमा उत्तानो पारेर सुताइएका ती नाङ्गा लासहरूको अवधि २ वर्षको रहेछ ।त्यतिन्जेलसम्म नसडून् भनेर केमिकलको प्रयोग गरिएको हुँदो रहेछ ।लासहरूलाई कपडाले छोप्ने चलन पनि रहेनछ ।कतिलाई छोप्ने ? एउटा दुइटा भए पो ।तिनका गुप्ताङ्गको स्पष्ट दर्शनले मलाई असह्य लज्जाबोध भइरहेको थियो । एक मन त लाग्थ्यो निस्किहालूँ यहाँबाट तर यो दुर्लभ अवलोकन अपुरो छाड्नुहुन्न भन्ने अठोट गरी सरका पछि पछि हिँडिरहेँ ।सरले मलाई हातको इसारा गर्दै लासहरूबारे जानकारी दिइरहनु भयो । कोठाका भित्तातिर लहरै सिसाका दराजहरू थिए । दराजका प्रत्येक तलामा शिशाका बाकस भित्र विभिन्न मानव अङ्गहरू सजाएर राखिएका थिए । मुम्बइबाट एड्स् बोकेर फर्केकी सोह्र वर्षे युवतीका अङ्गहरू एउटा दराजमा राखिएको थियो । सरले मलाई भनिरहनु भएको थियो । ‘शिक्षण अस्पतालमा तिनको मृत्यु भएपछि आफन्त लिन आएनन् । एड्स सर्छ भनेर कसैले छुन पनि मानेनन् । अनि म आफैँले यसरी राखेको हूँ ।’ मलाई लाग्यो, डाक्टर हुनु भनेको एकैचोटि वीभत्स र रोमाञ्चक अनुभव सँगाल्नु रहेछ ।

अझ अगाडि बढ्दा विभिन्न महिनाका गर्भे शिशुहरू लस्करै सिसाका बट्टाभित्र देखिए । विकसित अविकसित भ्रुणहरू, गर्भमै मरेका बच्चाहरू, सुत्केरी गराउँदा मृत अवस्थामा जन्मेका शिशुहरू त्यहाँ थिए । मलाई ती विशेष लाग्यो किनकि आफ्नो जीवन सुरू नगर्दै समाप्त भएका तिनीहरू अरूलाई भने जीवन यसरी अनाहकमा समाप्त नगर्न खबरदारी गरिरहेका झैँ देखिन्थे ।

पल्लो कोठामा केही विद्यार्थीहरू थिए । लासलाई चिरिरहेका र अध्ययनमा व्यस्त । मलाई नजिक गएर हेर्न मन लागेको थियो तर अध्ययनमा बाधा पर्ला भनी टाढैबाट हेरेर चित्त बुझाएँ ।म छेउको अर्को कोठामा पसेँ । पुस्तकालयमा पुस्तक राखेझैँ त्यहाँ हाडहरू राखिएका थिए ।दुइतिर दराज र बिचमा सानो बाटो थियो ।दाउराका हार जस्तै मिलाएर राखिएका ती सेता सुकेका हाडहरू सन्ठीका टुक्रा जस्ता देखिन्थे ।म डराउँदै भित्र पसेँ ।सरलाई अघिअघि निर्धक्क हिँडिरहेको देखेर आफू पनि सरासर हिड्न खोजेकी मात्र के थिएँ एउटा हड्डी मेरो बाहुलामा अड्कियो ।सतर्क भएर अलिक पछि सरी मैले अल्झेको हड्डी बाहुलाबाट बिस्तारै छुटाएँ । यो हड्डी मेरो कुनै टाढाको नातेदारको भएकाले यसरी टाँसिन आइ पुगेको त होइन ? म मनमनै हाँसेँ ।यस्तो सम्झेकामा मलाई तुरून्तै पछुतो पनि भयो । यी हड्डीहरू देख्ने बित्तिकै यो फलानो अङ्गको हो र यसको नाम यो हो भनी विद्यार्थीले भन्न सक्नु पर्ने रहेछ ।अर्को दराजमा मान्छेका विभिन्न आकारका खप्परहरू थिए । भविष्यमा लाग्ने तमाम रोगहरूको बारेमा जान्न र उपचार गर्न बालक देखि बृद्धसम्मका ती खप्परहरूका हड्डीको प्रकृति प्रकार हेरेर मानव रचना विज्ञान अध्ययन अध्यापन गराइँदो रहेछ । वाह मेडिकल साइन्स् ! मरेकाहरूबाट जीवन खोज्ने विज्ञान ।

बाहिर निस्कँदा प्रो.डा. डङ्गोलसँग भेट भयो । मलाई देख्ने वित्तिकै उहाँले एउटा रोचक अनुभव सुनाउनु भयो

।‘केही समय पहिले दुइ जना पत्रकार बहिनीहरूले विषेश अनुरोध गरेको हुँदा मैले भित्र लिएर गएँ ।ढोकाभित्र छिर्ने वित्तिकै लहरै शव देख्दा तिनीहरूले चिच्याउँदै मलाई यसरी ताने कि मेरो सर्ट झन्डै च्यातियो ।तिनीहरूलाई सामान्य अवस्थामा आउन निकै समय लाग्यो ।मुटु कमजोर भएकाहरूले आउने ठाउँ नै होइन यो ।’

यस्तो अपूर्व स्थल घुम्ने मैाका दिनुभएकोमा प्रोफेसर डाक्टर राम उप्रेती सरलाई धन्यवाद दिँदै म फर्केँ ।बाटामा मैले आफैँलाई प्रश्न गरिरहेँ । ‘आज मैले देखेको जीवन हो कि मृत्यु ? मृत्युबाट निर्मित जीवन पो हो कि ? ’मसँग त्यहाँ भित्र रहेका लासहरूका खात जस्तै प्रश्नका खात थिए तर उत्तर थिएन । उत्तर सायद राम सरसँग थियो होला, मैले सोध्नै भुलेछु।

साभार : मधुपर्क २०६९ असार अङ्कबाट