• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ ।

पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिलेको मौसमअनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियाँै । चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ ।”

प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ । गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो । उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदोखेतीको सुरुआत गरेका थिए । दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो । उहाँले भन्नुभयो, “यो कार्यक्रमले अध्ययनका साथै व्यवहारिक सीप सिकाउन मद्दत मिलेको छ । यसले विद्यार्थीलाई धेरै कुराको ज्ञान भएको छ ।”

शिक्षासँग सीप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूलखेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालनलगायत कार्यक्रम सुरु गरिएको छ ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ । सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु गरेका हौँ ।” गाउँपालिकाले विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । रासस