२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प: कार्यविधि नबन्दा पुन: निर्माणमा ढिलाइ



file photo
अ+ अ-

त्रिवेणी । पुन:निर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत् व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुन:निर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले माग गरेका हुन् ।

जिल्लामा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको तर पुन: निर्माणसम्बन्धी कार्यविधि नआउँदा स्थायी संरचना निर्माण गर्न ढिलाइ भएको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताउनुभयो । कतिपय अस्थायी आवास, मापदण्ड विपरीत बनेकाले त्यसमा विपत् व्यवस्थापन समितिले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “बर्खायामको समय नजिकै आएकाले सरकारले तत्काल पुन:निर्माणसम्बन्धी कार्यविधि नल्याए पीडित क्षेत्रका नागरिकले थप सास्ती भोग्नुपर्ने देखिन्छ । सङ्घीय सरकारले यसतर्फ पनि ध्यान दिएर तत्काल पुन: निर्माणसम्बन्धी कार्यविधि ल्याउनुपर्छ”, नगरप्रमुख केसीले भन्नुभयो । सरकारले दिएको अनुदान पाउने आशमा घर बनाए पनि भोलि सरकारले बनाएको कार्यविधि र पीडितले बनाएको घरको मापण्ड नमिलेमा फेरि जनता र सरकारबिच अविश्वास पैदा हुने भएकाले तत्काल पुन: निर्माणका लागि कार्यविधि आवश्यकता रहेको उहाँको भनाइ थियो ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले पनि अस्थायी निर्माणको काम करिब सकिएकाले सङ्घीय सरकारले जतिसक्यो छिट्टो भूकम्पपीडितको स्थायी संरचना निर्माणमा ध्यान दिन पुन:निर्माणको कार्यविधि तत्काल आवश्यक रहेको बताउनुभयो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले सुरु सुरुमा अस्थायी आवास निर्माणको समस्या रहेकामा अब भने पुन:निर्माणको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक बाँठालगायत अन्य सरोकारवालाहरूले भूकम्पपीडितलाई वर्षायाम सुरु नहुँदै स्थायी संरचनामा बसाल्न स्थानीय, प्रदेश र सङ्घीय सकारले समयै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए । विपत् व्यवस्थापन बैठकमा अन्य सहभागी राजनीतिक दल, सङ्घसंस्थाहरुले पनि पीडित नागरिकका लागि स्थायी संरचना आवश्यक रहेकाले पुन: निर्माणसम्बन्धी कार्यविधि पारित गरेर तत्काल पुन: निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

दोस्रो किस्ता प्राप्त गर्न मापदण्ड पालन गर्नुपर्ने

अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता दिए जसरी सजिलै दोस्रो किस्ता दिन नसकिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो किस्ता प्राप्त गर्न अस्थायी आवास मापदण्डअनुसार बनाउनुपर्र्ने, जग्गाको तिरो तिर्नुपर्ने र वडा, तथा पालिकाबाट स्वीकृत भई अस्थायी आवासको मापदण्डअनुसार डाटा बेसमा प्रमाणित गरेपछि मात्र लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्नेछन् । एकै परिवारका सदस्यले एकभन्दा बढी अस्थायी आवासका लागि पहिलो किस्ता प्राप्त गरेको पाएमा त्यस्ता लाभग्राहीलाई वडाबाट हुने सिफारिस, सामाजिक सुरक्षा भत्तालगायत सेवा सुविधा रोक्का हुने कार्यविधि रहेकाले दोस्रो किस्ताका लागि कडाईका साथ मापदण्ड पालना गर्नुपर्ने प्रजिअ पन्तले जानकारी दिनुभयो ।