११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलमा भविष्य खोज्दै भण्डारी



अ+ अ-

भजनी  । भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा  क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी  बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उहाँ अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थाल्नुभएको छ । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित हुनुभएका उहाँ लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आउनुभएको छ । 

“मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । छ महिना क्रिकेट खेल पनि सिकें”, उहाँले भन्नुभयो, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो । त्यही भएर भलिबल खेल्दै आएको छु ।”
    
कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उहाँले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउनुहुन्छ । “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।” उहाँले भन्नुभयो, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”
    
उहाँ अहिलेसम्म सहभागी भएका  प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाउने   धोको रहेको बताउनुहुन्छ  । उहाँले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आउनुभएको छ । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु । गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पु¥याउने मेरो लक्ष्य छ”, उहाँले भन्नुभयो, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन । आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ ।  म बनेर देखाउने छु ।”
    
उहाँलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन । अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उहाँले बताउनुभयो । 

“परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो ।  अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” उहाँले महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आउनुभएको छ ।  कोरोना महामारीको सङ्क्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको बताउनुभयो । 

“कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उहाँले भन्नुभयो, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण उहाँले लिब्रो खेल्दै आउनुभएको छ ।
  
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताउनुभएको छ । “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ । उहाँमा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उहाँले भन्नुभयो, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ । यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ ।” उहाँले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताउनुभयो । उहाँले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र  खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताउनुभयो  ।
  
खेलकूदले युवालाई सही बाटोमा डो¥याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताउनुभयो । “हामी अन्य प्रदेशभन्दा अगाडि छाँै भने त्यो खेलकुदमा छौँ । खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उहाँले भन्नुभयो, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।” झलनाथ खनाल/रासस