४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर
अ+ अ-

बेनी (म्याग्दी) । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्नुभएको थियो ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगाल्नुभएका उहाँ अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिनुहुन्छ । उहाँले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आउनुभएको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उहाँले बताउनुभयो । मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्याएको उहाँले बताउनुभयो । “वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उहाँले भन्नुभयो ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उहाँले बताउनुभयो । “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उहाँले भन्नुभयो ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उहाँ बताउनुहुन्छ । “मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ”, उहाँ भन्नुहुन्छ ।

सत्चालीस वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक रु २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउनुहुन्छ । “भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, उहाँले भन्नुभयो । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने स्थानीयस्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिकालगायतका देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको छ । हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ । आफूले निरन्तररूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताउनुभयो । उहाँले हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल पर्ने भएकाले आफूले चरन क्षेत्रमा सामूहिकरूपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताउनुभयो । छन्त्यालको भेडीगोठमा अहिले तीनजना हेरालु छन् भने वन्यजन्तुको आक्रमणबाट बचाउन पाँचवटा भोटे प्रजातिका कुकुरसमेत रहेका छन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो । “दुई दशक लामो समय विदेश बसेर पुन: आफ्नै गाउँठाउँमा फर्किएर भेडापालन गर्नुभएका हिमबहादुरको हिम्मत सबैका लागि प्रेरणादायी छ, अहिले युवाहरू गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुनसकेको छैन, तर हामीले उहाँलाई आवश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ”, उहाँले भन्नुभयो । रासस