१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार
अ अ+ अ-

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ ।

शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन् । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताउनुभयो ।

“बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन् ।” हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ । “अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ”, प्रजाले भन्नुभयो, “यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ ।”

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेका बताउनुभयो । उहाँले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताउनुभयो । छात्रावासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन् ।

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्रावासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउनुहुन्छ । “बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूलोबा, आमासँग बसिरहेको थिएँ, मलाई पढाउन सक्ने सम्भावना थिएन”, उहाँले भन्नुभयो, “कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो ।”

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीनजस्तै बन्नुभएकी सुनिता चेपाङ पनि मामाघरमा हुनुहुन्थ्यो । कक्षा ६ मा पढ्ने उहाँका भाइहरु पनि यही छात्रावासमा बसेर पढिरहेका छन् । आफ्नो जन्मदिने बाआमाबाट टाढा रहनु परे पनि उहाँले आधारभूत शिक्षाका लागि अभिभावक पाउनुभएको छ । छात्रावासमै घरपरिवारजस्तो वातावरण भएको भन्दै उहाँले ढुक्क भएर पढ्न पाएको बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्रावास सञ्चालनमा ल्याएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी सङ्कलन गरेर छात्रावासको सुरुआत गरिएको हो । अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ ।

“गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ”, उहाँले भन्नुभयो, “बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ ।” माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उहाँ बताउनुहुन्छ ।

“कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्रावासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।” गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उहाँले बताउनुभयो ।

वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्रावास सञ्चालनमा आएको हो । कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उहाँले बताउनुभयो । अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीयरुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

“यहाँ खान बस्ने व्यवस्थासँगै बालबालिकालाई अतिरिक्त कक्षाको पनि व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै विपन्न परिवारका बालबालिकालाई छात्रावासमा राखेर पढाएका छौँ ।” उहाँले सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको बताउनुभयो ।

माध्यमिक तहभन्दामाथि एकै ठाउँमा विद्यालय नहुँदा अर्को विद्यालयमा छात्रावास चलाउन सक्ने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “त्यसकारण यस विषयमा स्थानीय अभिभावक, विद्यालय परिवार र जनप्रतिनिधि तथा सामाजिक स्ङ्घसंस्थासँग पनि कुराकानी भइरहेको छ ।”

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्रावास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताउनुभयो । उहाँले गाउँपालिकाले छात्रावास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले छात्रावासलाई सुरक्षित र व्यवस्थित बनाउन पहल गरिने बताउनुभयो । चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन अन्य ठाउँमा पनि आवासीय सुविधासहितको विद्यालयको परिकल्पना गरिएको उहाँले बताउनुभयो । रासस