१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो

गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो । प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ५२ हजार तीन सय ३१ मेट्रिक टन सुन्तला फलेको थियो । आव २०७८/०७९ माजम्मा ५० हजार आठ सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।

सुन्तला खेतीको क्षेत्रफल विस्तारसँगै पछिल्लो तीन वर्षयता सुन्तलाको उत्पादन लगातार वृद्धि भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । आव २०७८/७९ मा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती गरिएकामा चालु आवमा सो क्षेत्रफल बढेर आठ हजार १७ हेक्टर पुगेको उहाँको भनाइ छ ।

“प्रदेशमा सुन्तला उत्पादन बढिरहेको छ, तीन वर्षअघि प्रतिहेक्टरमा नौ दशमलव ७८ मेट्रिक सुन्तला फलेको थियो भने यस वर्ष प्रतिहेक्टरमा १० दशमलव ६५ मेट्रिक टन उत्पादन भएको छ”, प्रमुख रेग्मीले भन्नुभयो, “फल दिने नयाँ बोट थपिनु, बगैँचा व्यवस्थापन, रेखदेख, रोगकिरा नलाग्नु, अनुकूल मौसम जस्ता कारणले सुन्तलाको उत्पादन वृद्धि भएको हो ।”

निर्देशनालयका कृषि अर्थ विज्ञ शशी अधिकारीले चालु आवमा सबैभन्दा बढी स्याङ्जामा १९ हजार ९० मेट्रिक टन सुन्तला फलेको जानकारी दिनुभयो । उत्पादकत्वका दृष्टिले पनि सबैभन्दा बढी स्याङ्जामा प्रतिहेक्टर १४ दशमलव ४६ मेट्रिक टन सुन्तला फलेको उहाँको भनाइ छ । यस वर्ष सबैभन्दा कम लमजुङमा चार सय ५० मेट्रिक सुन्तला उत्पादन छ । लमजुङमा जम्मा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

गोरखामा चार हजार नौ सय ७२ दसमलव ५०, तनहुँमा ११ हजार पाँच सय १८, कास्कीमा पाँच हजार चार सय ३५, पर्वतमा चार हजार १५, म्याग्दीमा ती हजार छ सय, बागलुङमा तीन हजार नौ सय २० र नवलपुरमा एक हजार दुई सय २७ मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ ।

गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने सुन्तला खेती नहुने कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिनुभयो ।

निर्देशनालयका प्रमुख रेग्मीले गण्डकी देशमै बढी सुन्तला उत्पादन गर्ने प्रदेशमा पर्ने बताउनुभयो । किसानले पाउने प्रतिकिलो रु ५५ औसत मूल्यका आधारमा यस वर्ष गण्डकीमा रु दुई अर्ब ९८ करोड, २५ लाख, ४० हजार बराबरको सुन्तला उत्पादन भएको प्रमुख रेग्मीले बताउनुभयो । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजाने गरेको उहाँको भनाइ छ ।

“बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई रु एक सयदेखि एक सय ५० सम्ममा बेच्छन्, फागुन, चैतमा मूल्य अझ बढ्छ, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ”, प्रमुख रेग्मीले भन्नुभयो, “जिल्लाले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब रु तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको देखिन्छ ।”

गण्डकीमा सुन्तला विस्तार भएर आठ हजार १७ हेक्टरमा फैलिए पनि उत्पादन दिने बोटले ओगटेको क्षेत्रफल भने जम्मा पाँच हजार ९२ हेक्टर छ । सुन्तलाको उत्पादन बर्सेनि बढ्दै जाँदा किसानलाई भने बजारको चिन्ता थपिन सक्ने निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । सुन्तलामा आधारित उद्योग सञ्चालनमा राज्य र व्यावसायिक क्षेत्रले लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रमुख रेग्मीले रोगकिराको प्रकोप, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावआदि सुन्तला खेतीमा देखिने गरेका चुनौती हुन् । बोट सुकेर मर्ने रोग, औँशे किरालगायतले पनि सुन्तला खेतीमा बेलाबेलामा क्षति पुर्‍याउँदै आएको छ ।

“सुन्तला खेती प्रवर्द्धनमा किसानलाई सरकारले पनि अनुदान, सीप र प्रविधि दिएर सघाइरहेको छ”, प्रमुख रेग्मीले भन्नुभयो, “बगैँचाको रेखदेख, व्यवस्थापनमा किसान नै बढी चनाखो हुनुपर्छ, अनुदान पाए गर्ने नत्र वास्ता नगर्ने प्रवृत्ति पनि कतिपय किसानमा छ, त्यो गलत हो ।” सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि विभिन्न जिल्लामा सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् ।

बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम सञ्चालन गरिएपछि पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफमा सुन्तला खेती विस्तार भएको ‘सुन्तला जोन’ एकाइ कार्यालयले जनाएको छ ।

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारीलगायत गाउँ सुन्तला खेतीका लागि बढी चिनिन्छन् । तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा पनि सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुन्छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्‍याउँछन् ।

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । “नगदे बाली भएकाले सुन्तला खेतीबाट किसान सन्तुष्ट छन्, सुन्तला बेचेर वार्षिक दशौँ लाख कमाउने किसान पनि हामीकहाँ छन्”, उहाँले भन्नुभयो । रासस