काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन् । नेपाल र भारतका बीचको संयुक्त आयोगको बैठकमा सहभागीताका लागि उनी यहाँ आउन लागेका हुन् ।
उनको यो भ्रमण विशेषगरी जलविद्युत् तथा कनेक्टिभिटीमा बढी केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो बैठकका साथै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले दुई देशबीच मन्त्रीस्तरीय हुने नियमित बैठकमा उनी आउन लागेको जनाएका छन् । त्यो बैठकमा प्रस्तुत हुने एजेन्डाबारे नेपालतर्फको तयारी लगभग पुरा भएको जानकारी पनि उनले दिए ।
परराष्ट्र मन्त्री एनपी साउदले पनि आयोगको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । त्यसैगरी मन्त्री साउदले पूर्वपरराष्ट्र मन्त्री, भारतका लागि पूर्वराजदूत र पूर्वसचिवहरुसँग पनि छलफल गरिसकेका छन् । भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणको क्रममा कस्ता–कस्ता विषयमा छलफल हुने बारेमा परराष्ट्र मन्त्री साउदले हिजो पूर्व परराष्ट्रमन्त्री तथा विज्ञहरुसँग राय मागेका थिए ।
जलविद्युत् व्यापार, क्रस बोर्डर कनेक्टिभिटी, रोकिएका कामलाई सुचारु गर्ने लगायतका विषयमा भारतका विदेशमन्त्रीसँग कुराकानी गर्न सरोकारवालाहरूले सुझाव दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डको गत जेठ १७ मा भएको भारत भ्रमणका क्रममा दुई देशबिच भएका सहमतिका विषयहरुको कार्यान्वयन गर्ने बारेमा छलफल हुने मन्त्री साउदले बताए । त्यसमा मुख्यतः जलविद्युत् आयोजनाहरू तथा हवाई उडानको विषयमा छलफल हुने बताइएको छ । सो भ्रमणमा आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिददेखि लिएर अन्य जल विद्युत् आयोजनाको बारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।