काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आयोजक नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा जारी उक्त खेलको पहिलो हाफमा नेपालले २-० गोलको अग्रता लिएको छ ।
खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहेका हुन् । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् । उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
खेलमा निकै नै दबदबा राखेको नेपालले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । खेलको ७ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।
यस्तै १६ औं मिनेटमा अनन्त तामाङले हेडमार्फत प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बललाई पञ्च गरेर पोस्टबाहिर फालेका थिए । यस्तै २९ औं मिनेटमा अञ्जन बिस्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउन पुगे । उनले बललाई चिप गरेर पोस्टमाथि फ्याँक्न पुगेका थिए । ४४ औं मिनेटमा अनन्त तामाङले गोल गर्ने राम्रो अवसर पाएका थिए ।