२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकका अधिकांस स्थानमा वर्षा, विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित



अ+ अ-

काठमाडौं । नेपालको आकासमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण शनिबारसम्म मौसम प्रभावित हुने भएको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।बिहीबार साँझदेखि नै अधिकांश ठाउँमा वर्षा र भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको  छ । देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनरचटयाङ  सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जनरचटयाङरअसिना  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।उता गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त महाशाखाले जनाएअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै शनिबार प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।उक्त महाशाखाले शनिबार रातिसम्म देशभर आंशिक बदली भएर पानी पर्ने र त्यसपछि आइतबार बिहानसम्ममा मौसम सामान्यतया सफा रहनेछ। आज र भोलि शनिबार काठमाडौँको आकासमा घाम लाग्ने सम्भावना निकै न्यून रहेको बताइएको छ ।

वर्षा र हिमपातका कारण दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडक हिउँले अबरुद्ध भएको छ । यसै गरी जुम्लामा पनि भारी हिमपात भएको छ । हिमापातका कारण   जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन  चल्न सकेका छैनन् ।बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् । 

भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो । पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका–२ का भरत बोहराले जानकारी दिनुभयो । 

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताउनुभयो । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताउनुभयो । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उहाँको भनाइ छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताउनुभयो । समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उहाँले बताउनुभयो । यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ  पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताउनुभयो । हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताउनुभयो । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस