२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का



अ+ अ-

घाना: उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद दिनुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गर्नुभयो । साथै यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिनुभयो ।

आजै संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरुप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनहरुमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रुपमा नेपालले उठाएको स्मरण गराउनुभयो ।

आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरुले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्र्न र बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले त्यस अवसरमा घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध बिस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।

सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली संघले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेको उल्लेख गर्नुहुँदै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाई भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समेत समस्या भएको बताउनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरुलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदानप्रदान गर्न र नेपालको कला, संस्कृति प्रबर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउनका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नुुपर्ने बिचार व्यक्त गर्नुभयो ।