२८ कार्तिक २०८१, बुधबार
,
Latest
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’ आज देशका अधिकांश भागमा मौसम सफा रहने राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौँ घाइते राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने… सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाचकेवा पर्व समापन गरिँदै



अ+ अ-

महोत्तरी । महोत्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ ।

द्वापरयुगका पौराणिक पात्र सामाचकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सामा र चक्रधरलाई श्रीकृष्णले स्वच्छन्द प्रवृत्तिका भए भन्दै चरा योनीमा जाने श्राप दिनुभएको किंवदन्ती छ । पिताका श्रापले चरा योनीमा पुगेका सामा र चक्रधर ९चकेवा० लाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले श्रीशिवको कठोर तपस्या गरेर पितालाई रिझाई सामा र चक्रधरलाई श्रापमुक्त गराउन सक्ने वरदान पाएका थिए ।

उक्त वरदानले सामा र चक्रधर श्रापमुक्त भई पूर्वयोनीमा आई विवाह गरी घरजम गर्न पाएका कथा नै पर्वको परम्परा बनेको संस्कृतिका जानकार बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएका उदारता र स्नेहको कदर गर्दै मिथिलामा दिदीबहिनीले साम्बजस्तै समर्पित हुने दाजुभाइ हुन भन्ने विश्वासमा पर्वका गीतमार्फत भाव पोख्दछन् ।

पर्वमा सामा, चकेवा, चरा, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाका खेलौना बनाएर पर्वभरि रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाइन्छ । बोलीचालीमा ‘सामा खेल’ भनिने यो पर्व मिथिलामा थारु जाति समुदायमा विशेष तयारीका साथ मनाइन्छ । मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि यो पर्व उल्लासका साथ मनाउँदै आएका छन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीक मानिने सामाचकेवा पर्वमा दिदीबहिनीले पछिल्ला १० दिनभरि चकमन्न रातमा बस्तीका चौबाटोमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य (बहादुरी) बखान गर्दै राती सामूहिक गीत गाएका थिए ।

कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, बृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै आज यो पर्व समापन गर्दैछन् । पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् । कतिपयले भने आफ्नै घरमा दाजुभाइ बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै आफ्ना घरमा पर्व मनाउँछन् ।

द्वापरयुगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नी बहिनी सामाको चारुवक्त्र (चक्रधर) सँगको प्रेम सफल बनाउन गरेका योगदानको स्मरण गर्दै दाजुभाइलाई यो पक्षमा सम्झना गरिएको सामा खेल्ने मिथिलानी बताउँछन् ।

पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई पुजन गर्दै मिष्ठान्न भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई वस्त्रआभूषण र गच्छअनुसार दक्षिणा दिन्छन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने मैथिल विश्वास गर्छन् । रासस