४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

जाडो छल्न नेपाल आइपुगे चरा

जाडो छल्न नेपाल आइपुगे चरा
अ+ अ-

बेलबारी (मोरङ) : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउनुहुन्छ ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” उहाँका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको अधिकारीले जानकारी दिनुभयो । “कोशीटप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्, मङ्सिरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ”, उहाँ बताउनुहुन्छ ।

उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउनुहुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)