४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण

महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण
अन्नपूर्ण आधार शिविरमा महासचिव गुटेरेस
अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नुभएको छ ।

आइतबार यहाँ आइपुग्नुभएका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुग्नुभयो । उहाँले आजै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्नुभयो भने त्यहाँबाट आजै लुम्बिनी पुग्नुभएको हो । उहाँले लुम्बिनीमा करिब डेढ घण्टा बिताउनुहुनेछ ।

सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्नुहुँदै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताउनुभयो । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ ।

विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । त्यसैगरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरुको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको पाइन्छ ।

कोराना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यतिबेला  कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ । सम्भवतः नेपालमा विदेशी पर्यटक आगमन सन् २०२३ को अन्त्यसम्ममा कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा आइपुग्छ । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् ।

यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उहाँको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उहाँले भन्नुभयो, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ, जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण हुनेमा उहाँको विश्वास छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पूर्ववत: लयमा फर्कन लागेको नेपालको पर्यटन क्षेत्र महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा थप चलायमान हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महासचिव गुटेरेसको सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पोखरा र पाटन दरबार क्षेत्रलगायतका गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उहाँको यस भ्रमणबाट ठूलो प्रचारप्रसार भएको छ ।”

महासचिव गुटेरेसको खुम्बु क्षेत्रको भ्रमणले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै दिगो पर्यटन विकासमा यसले विश्वव्यापी रुपमा बहस हुने निर्देशक लामिछानेको भनाइ छ । गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यू’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ ।

छोटो समयमा संसारका अग्ला र उत्कृष्ट हिमाल पनि भ्रमण गर्न सकिने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने भएकाले नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि हुने निर्देशक लामिछानेको बुझाइ छ ।

जलवायु परिवर्तन र दिगो पर्यटन विकासको विषय विश्वव्यापी रुपमा उठिरहेको सन्दर्भमा महासचिव गुटेरेसको भ्रमणबाट विश्वको ध्यानाकर्षण भएको हानका अध्यक्ष शाहको बुझाइ छ । “नेपालको कूटनीतिक सम्बन्ध, संयुक्त राष्ट्रसङ्घको सदस्यको हिसाबले नेपालले गरेको प्रतिबद्धता त छँदैछ तर, यसले पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्‍याउँछ । पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।”

नेपालमा यतिबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । दसैँ सकिएर, तिहार र छठ पर्वको माहोल छ । पदयात्रा र पर्वतारोहणका लागि विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आइरहेका छन् । आन्तरिक पर्यटन पनि चलायमान भएको छ ।

महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेपाले विश्वास व्यक्त गर्नुभयो । साहसिक पर्यटनको आकर्षक गन्तव्यसमेत रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उहाँले बताउनुभयो ।

पाटन दरबार क्षेत्र अवलोकन

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गर्नुभयो । सो अवसरमा महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी गराउनुभयो । महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

महासचिव गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेपालका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा जोड दिनुभएको छ । उहाँले पुरातात्विक महत्वका  सम्पदाको वास्तविक स्वरुप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ ।”

सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको उहाँले प्रतिक्रिया दिनुभयो । महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको उल्लेख गर्नुहुँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताउनुभयो ।

जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण

महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गर्नुभएको थियो । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गर्नुभएको थियो ।

महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् ।

सिबी अधिकारी/रासस