२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाले फापरखेती नष्ट



अ+ अ-

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गर्नुभयो । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्याएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित बनेका छन् । असिनाले तरकारीका बिरुवा ढलाइदिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पुर्याएको बुढाथोकी बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा धेरैजसो किसानले फापरखेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गथ्र्यो, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरि तोरी, तकारी र फापर सबै भुइँभरि ढलेको छ, कात्तिकमा भित्र्याउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरि झरेका छन्, तोरी भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ ।”

हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पुर्याएको छ । बागलुङ नगरपालिका–३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँभरि भएको स्थानीय सरोज कार्कीले बताउनुभयो । केही दिन अगाडि आएको हावाहुरीले केही ठाउँमा ढले पनि सोमबार साँझको पानीले ठूलो क्षति पुर्याएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो बेलाको वर्षाले धान, कादो, भटमासलगायतका बालीमा क्षति पुर्याउने गरेको बताउनुभयो । किसानले जिल्लाको विभिन्न स्थानबाट धान ढलेको गुनासो गरेको भन्दै क्षति भएको तथ्याङ्क लिएर राहतका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने जानकारी दिनुभयो । यो समय धानबाली भित्र्याउने भएको हुँदा किसानले मौसम हेरेरमात्रै धान काट्नुपर्ने प्रमुख सिलवालले बताउनुभयो । यो याममा पानीमात्रै परे कुनै पनि बालीलाई क्षति नगर्ने जनाउँदै हावाहुरी र असिना परे खाद्यबाली, तरकारी र फलफूलमा क्षति पुर्याउने उहाँको भनाइ छ । रासस