१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

जङ्गली हात्ती जंक फुडको स्वादमा पल्किए पछि…

जङ्गली हात्ती जंक फुडको स्वादमा पल्किए पछि…
फाईल फोटो
अ अ+ अ-

झापा । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया इक्सा लिम्बु छिमेकी भाउजुको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जङ्गली हात्तीले घर भत्काउन थाल्यो । एक्साकी भाउजु जसोतसो भागेर अर्को घरमा पुग्नुभयो तर उनी भने हात्तीको सुँढमा बेरिइन् । हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै पर्‍यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ । गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो ।

जङ्गलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । सहरतिर पसेको त बिरलै सुनिन्थ्यो । अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन् । झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् तर रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका बस्तीसम्मै देखिने गर्छन् ।

आहार खोज्दै बजारतिर 

गत महिना पूर्वपश्चिम राजमार्गको कनकाई खण्डमा पर्ने सुरुङ्गामा हात्तीले रातभर बजार डुलेको भिडियो भाइरल भएको थियो । एक्लै पुगेको हात्तीले पसलमा राखिएको स्वादिष्ट खानेकुरा र नून छानीछानी खाएको थियो । सुरुङ्गा बजारमा जङ्गली हात्ती डुल्दा जनधनको सुरक्षाका लागि रातभर प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हात्तीलाई अनेक प्रयास गरेर सुरक्षित रुपमा जङ्गलतिर धपाएका थिए ।

भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष राम दाहालका अनुसार जङ्गली हात्ती भद्रपुरको सहरिया बस्तीमा बारम्बार आउने गरेको छ । भद्रपुर–९ को पारिजात चोक, प्रणामी टोल र पुहातुबारीमा नजिकैको निचाझोडा जङ्गलबाट हात्ती आउने गरेको छ । बाहुनडाँगी, खुदुनाबारी, चारआली, बुधबारे, पुहातुबारी, जलथल, घेराबारी, धुलाबारी, ज्यामिरगढी लगायतका मानव बस्ती रहेको क्षेत्रमा हात्ती रातैपिच्छे आउने, बाली खाने, घरगोठ भत्काउने, मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

हात्ती संरक्षण अभियानमा लाग्नु भएको शङ्कर लुइँटेलका अनुसार झापामा भारतको सुकुना जङ्गलबाट प्रवेश गर्ने र स्थानीय जङ्गलमा डुलिरहने गरी दुई खाले जङ्गली हात्ती पाइन्छन् । उहाँका अनुसार गत वर्ष एकैखेपमा ३० वटा हात्ती भारतबाट पसेका थिए । ती अहिलेसम्म फर्केका छैनन् । झापा, मोरङ र सुनसरीको सामुदायिक वनहरुमा ती हात्ती बाँडिएर डुलिरहेको लुइँटेलको भनाइ छ ।

यसबाहेक झापाका सामुदायिक बनहरुमा वर्षौंदेखि आश्रय लिदै आएका १३ वटा रैथाने हात्ती छन् । रैथाने हात्ती एक्लै बस्छन् र एक्लै सहरतिर पस्छन् । एक्ले हात्ती धेरै अटेरी र क्षतिदायक हुने गरेको छ । भारतबाट गत वर्ष आएका हात्ती झुण्ड झुण्डमा जंगलभित्रै बसेका छन् । “जङ्गलमा आहार पाइँदैन, बस्ती नपसेर कहाँ जाउन्,” संरक्षण अभियन्ता लुइँटेल भन्नुहुन्छ–“हात्तीले खाने आहार जङ्गलभित्र पाउन छाडेकाले तिनीहरु खानेकुरा खोज्न गाउँ र सहरतिर निस्किन बाध्य भएका छन् ।” वनभोज स्थलमा मानिसले फ्याँक्ने प्लास्टिकका थैलीमा रहेका नुनिला र स्वादिला खानेकुरा चाट्न पल्किएका रैथाने हात्तीले सहर पसेर त्यस्तै आहारको खोजी गरिरहेको उहाँको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष एवम् हात्ती संरक्षण अभियन्ता अर्जुन कार्की जङ्गली हात्तीलाई आहार हुने विभिन्न फलफूलका बिरुवा जङ्गलभित्र हुर्काउन सके हात्ती सहर र बस्ती पस्ने क्रम रोकिने धारणा व्यक्त गर्नुहुन्छ । उहाँले एक दशकदेखि सीमावर्ती मेची नदीको बगर र सामुदायिक बनहरुमा हात्तीका लागि प्रिय केरा, कटहरलगायतका फलफूलका विरुवा लगाउनु पर्ने वकालत गर्दै आउनु भएको छ । हात्तीलाई पल्काउने फलफूल जङ्गलमा हुर्काउँदा हात्तीले स्थानीय वन क्षेत्रलाई स्थायी वासस्थान बनाउँलान् भनेर कतिपय स्थानीयवासी कार्कीको योजनासँग सहमत छैनन् ।

गोबरमा चाउचाउको खोल

जङ्गली हात्ती पछिल्ला वर्षहरुमा नुनिला र गुलिया तयारी खानेकुरा (जंक फुड)को स्वादमा पल्किएको हुनसक्ने प्रमाणहरु भेटिएका छन् । हात्ती छिर्ने नेपाल–भारतको गौंडाहरु रहेको मेचीनगर–४ को बाहुनडाँगी क्षेत्रमा हात्तीले त्याग गरेको मलमा चाउचाउ, बिस्कुट र कुरमुरेका प्याकेटका खोल बारम्बार भेटिएको वडाध्यक्ष कार्की बताउनुहुन्छ । “जङ्गलको वनभोज स्थलहरुमा फ्याँकिएका खानेकुरा चाटेर खोलसँगै हात्तीले निल्ने गरेका छन्,” कार्की भन्नुहुन्छ–“त्यहीकारण मेची खोलाका बगर र बनमा हात्तीको गोबरमा चाउचाउ, बिस्कुट र प्लास्टिकका खोल भेटिन थालेको हो ।”

चाउचाउलगायतका नूनिला तयारी खानेकुरामा पल्किएको हात्ती त्यही खानेकुराको खोजीमा सहर पस्ने गरेको र जम्काभेटमा मानवीय क्षति समेत हुने गरेको उहाँ बताउनुहुन्छ । हरेक दिन २०० केजी आहार हात्तीले खाने गरेका छन् । जङ्गलमा आहारको गुञ्जाइस नभएपछि हात्तीले गाउँका भान्साकोठा र सहरका पसल तोडफोड गर्दै आएका छन् ।

गत वर्ष झापामा आठ जनाको मृत्यु र सात घाइते भएका थिए । मानिसको आक्रमणबाट दुई हात्ती मरेका थिए । यसरी मानव–हात्तीबीचको द्वन्द्व वर्षौंदेखि चल्दै आएको छ । मानिस र हात्तीले एउटै स्थानलाई आफ्नो बासस्थान बनाउँदै आउँदा द्वन्द्व चर्किएको हो । झापामा पाँच अघिदेखि जङ्गली हात्तीका कारण स्थानीयबासीले जनधनको क्षति व्यहोर्दै आएका छन् । झापामा विगत १२ वर्र्षमा हात्तीले ६२ जनाको ज्यान लिएको र करोडौंको धनमाल क्षति गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलै फर्काउन फलफूल रोपौँ

जङ्गली हात्तीको उपद्रो उत्कर्षमा रहे तापनि मानव वस्ती, बाली र भौतिक सम्पत्ति जोगाउन हालसम्म गरिएका प्रयासहरु शत प्रतिशत भरपर्दो साबित हुन सकेका छैनन् । पटाका पड्काउने, फक्स लाइट बाल्ने र हवाई फायर गर्नेदेखि सीमा क्षेत्रमा सात किलोमिटर लामो सुरुङ खन्ने परियोजनाहरु विगतमा प्रयोग गरिए । अहिलेसम्मका प्रयासमध्ये सौर्य विद्युतीय घेरबार सबैभन्दा लाभदायक देखिएको छ ।

सङ्घीय र प्रदेश सरकारले विभिन्न कालखण्डमा विद्युतीय घेराबेराका लागि करोडौं बजेट बिनियोजन गरिसकेका छन् । तर, जङ्गलको हात्तीलाई जङ्गलमै फर्काउन उसका लागि मनपर्ने फलफूलका विरुवा जङ्गलमा रोप्ने योजनामा भने कसैले पनि बजेट हालेका छैनन् । “घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउँदै आएको हो”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्नुहुन्छ, “हात्ती आफ्नो बाटो हिँडोस्, जङ्गलभित्रै डुलफिर गरोस्, तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनास गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ ।”

झापाको प्राकृतिक जङ्गलको रुपमा निचाझोडा र जलथल चारकोसे झाडी रहेका छन् भने दर्जनौं सामुदायिक बन जिल्लाभर फैलिएका छन् । दक्षिणको कचनकबलदेखि उत्तरको बाहुनडाँगीसम्मको १२० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेराको कार्य अन्तिम चरणमा पुगिसकेको छ । निचाझोडा, जलथल, पाँचपोखरी, जुकेखाडी, तेलपानी र रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र रैथाने हात्तीले बासस्थान बनाएका छन् । ती जङ्गलभित्र हात्तीका लागि खाने आहारको अभाव भएको हुँदा भोकाएका हात्तीहरु साँझ पर्नासाथ मानव वस्तीतिर पस्ने गरेको जानकारहरु बताउँछन् ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल मानिसले आफ्नो मात्र नभएर यो धर्तीकै सबैभन्दा ठूलो प्राणी हात्तीको सुरक्षित बासस्थान र आहारका पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । “हात्तीको सबैभन्दा ठूलो सकट नै आहारको खोजी हो,” खरेल भन्नुहुन्छ–“दैनिक २०० केजी आहार नभए उसको पेट भरिन्न । अहिलेको जङ्गलमा बाँदर र चराले खाने आहार नै छैन । हात्तीहरु बाँच्नका लागि आहारको खोजी गर्दै मानव वस्तीमा पस्ने गरेका छन् । जङ्गलमा हात्तीले रुचाउने फलफूलका बिरुवा हुर्काउने हो भने यसबाट हात्ती आफ्नै बासस्थानमा फर्किने सम्भावना छ ।”

चन्द्रकला भण्डारी/रासस