२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम भएनन् आत्महत्याका घटना



अ+ अ-

दाङ । गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९ विजौरी र राजपुर गाउँपालिका वडा नं ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर विक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरुले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।

दाङ जिल्लामा प्राय: तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपाराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्याकासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्सान र तीन जना नदीमा हामफालेर गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा दुई सय १९, आव २०७८/७९ मा दुई सय २०, आव २०७७/७८ मा दुई सय ४१ र आव २०७६/७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न मानसिक तनाब, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।

व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उहाँ भन्नुहुन्छ, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नुहुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गर्नु हुन्छ, ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

“आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,” डाक्टर मुरली मनोहर रौनियारले भन्नुभयो । उहाँ यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमि आउने बताउनुहुन्छ । उहाँले आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउनुहुन्छ । रासस