२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शैय्यामा छट्पटाउँदै बिरामी

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शैय्यामा छट्पटाउँदै बिरामी
अ अ+ अ-

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।

जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताउनुभयो ।

सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।

सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ । 

भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, छ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा गौतमले जानकारी दिनुभयो । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।

डा गौतमले भन्नुभयो, “उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौँ, अब त्यहाँबाट पनि सहज नपाइने भयो, सरकार ७० शैय्याको हाइकेयर युनिट चलाऊ भन्छ, तर अक्सिजन छैन, भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने ?” सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरुलाई हम्मे परेको छ ।

डा गौतमले भन्नुभयो, “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ, अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन ।” बिरामीको सङ्ख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो । सिसीएमसीको सिफारिसबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ । सिसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्ने भन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकरुको भनाइ  छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मङ्गलबार दिनभर दौडधुप गरेर १८ सिलिण्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाउनुभएको छ । यस अस्पतालमा छ भेन्टिलेटर, पाँच आइसीयू, १४ हाइकेयर युनिट र १८ आकस्मिककक्षमा गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यस अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सिसीएमसीले अन्यत्रै सिफारिस गरिदिएपछि अक्सिजनको अभाव भएको हो । अस्पताललाई दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि सिसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिण्डरमात्रै सिफारिस गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ ।

अस्पतालले अक्सिजन अभाव भएको र १८ बिरामीको ज्यान जोखिममा परेको जानकारी गराएलगत्तै मङ्गलबार दिनभरि नै नगरप्रमुख श्रेष्ठको अक्सिजन जोहो गर्न निकै दौडधुप चल्यो । सिसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र विभिन्न अक्सिजन कम्पनीमा दौडधुप गर्दा पनि नपाएपछि काभ्रेको कम्पनीमा आफैँ गएर १८ सिलिण्डर अक्सिजन जोहो गरेपछि अस्पतालका बिरामीको ज्यान बचाउन सफल भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “नगरपालिकाले कोभिडका बिरामीका लागि अस्पतालमा १५ शय्या थप गरे पनि अक्सिजन अभाव भएपछि सञ्चालन गर्न सकेको छैन । नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था छैन ।” नगरपालिकाले करिब रु ६५ लाखको लागतमा एक साताभित्र आफैँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर आकस्मिककक्षमा पाइपमार्फत अक्सिजन दिने व्यवस्था गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यसपछि पनि दैनिक ३० सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले अक्सिजन नहुँदा भक्तपुर अस्पतालमा निकै समस्या परेको बताउँदै अन्य निजी अस्पताल भने अक्सिजन नभएकै कारण बन्द हुन थालेको बताउनुभयो ।

काठमाडौँको शिक्षण अस्पतालमा अक्सिजन अभावमा भर्ना भएका कोभिड सङ्क्रमितको ज्यान अत्यन्त जोखिममा परेको भन्दै यहाँका चिकित्सक नै रोएको बिरामीका आफन्त मनोहर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्सिजन छैन, नयाँ बिरामी भर्ना लिन सक्दैनौं, भर्ना भएका बिरामी बचाउन पनि मुस्किल पर्न थाल्यो भन्दै चिकित्सक रोएको देख्नुपर्यो, बिरामीका आफन्तले कसरी मन सम्हाल्ने ?” अक्सिजन कम्पनीका अनुसार उपत्यकामा अहिले दैनिक १५ हजार लिटर अक्सिजनको माग भए पनि मुस्किलले सात हजार लिटर मात्रै उत्पादन एवं वितरण गर्न सकिएको छ ।

अक्सिजन नभएकै कारण केही दिनअघि भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिड सङ्क्रमित दुई बिरामीको ज्यान गएको थियो । अहिले यस अस्पतालसँगै जिल्लाका मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल, डा इवामुरा अस्पताल तथा सिद्धिस्मृति अस्पतालले कोरोना सङ्क्रमितलाई भर्ना नलिने भएका छन् । रासस