२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागबेनी बाढी अपडेट: २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प



अ+ अ-

कागबेनी । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।

माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाउनुभयो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहनुभएका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताउनुभयो । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उहाँले बताउनुभयो । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उहाँले बताउनुभयो ।

“दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,” उहाँले भन्नुभयो, “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।”

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । उहाँका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उहाँको भनाइ छ ।

सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उहाँको भनाइ छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उहाँ बताउनुहुन्छ । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उहाँले बताउनुभयो ।

“अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्याङ्कन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।”

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिनुभयो । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उहाँको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उहाँ बताउनुहुन्छ । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो, “बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौँ ।” वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन् । प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ । रासस