२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाका नीति कार्यान्वयनमा समस्या: युवा सांसद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो ।

सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले राज्यले रोजगार, सुशासन, नीतिको सम्बन्धमा समाधानको निष्कर्ष निकाल्न नसकेको आरोप लगाउनुभयो । “शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीले कहाँ ऋण पाएका छन् ? सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्”, उहाँले भन्नुभयो, “प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ ।” सरकारले पद्दति, सुशासनको काम गर्न नसकेको पौडेलेको भनाइ थियो । उहाँले सरकार र राजनीतिक दलले युवाको क्षेत्रमा परिमाण दिने गरी र सुशासन प्राप्तिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले युवाका क्षेत्रमा बनेका नीतिमा काम गर्न नसकेकाले युवालाई उद्यमशील बनाउन समस्या भएको बताउनुभयो । उहाँले युवाका विषयमा धेरै मन्त्रालयले बजेट छुट्याए पनि उक्त बजेटको सही सदुपयोग हुन नसकेको बताउनुभयो । “योग्य युवा राजनीतिमा नआउने हो भने अयोग्य युवाले राजनीति गरिरहन्छन्”, उहाँले भन्नुभयो– “मुलुकलाई सही दिशामा लैजानका लागि योग्य युवा राजनीतिमा आउनुपर्दछ ।”

सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताउनुभयो । उहाँले युवाका क्षेत्रमा बनेका कानुन कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद सुमना श्रेष्ठले नीति कार्यान्वयनमा ध्यान नदिएकाले युवा उद्यमी बन्न नसकेको बताउनुभयो ।

परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ दिवस मनाइँदै छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले दिवस मनाउनका लागि साताव्यापीरूपमा युवा नेतृत्व विकास तथा युवा तथा उद्यमशीलतासम्बन्धी अन्तक्र्रिया, गोष्ठी, रक्तदान, वृक्षरोपणलगायत कार्यक्रम गरिएको बताउनुभयो ।

नेपालमा बर्सेनि साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । अहिले साताव्यापीरूपमा परिषद्को अगुवाइमा दिवस मनाइरहेको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ (साउन २७ गते) लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत छ । रासस