४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

वर्षाले बागलुङका ग्रामीण सडक ठप्प

वर्षाले बागलुङका ग्रामीण सडक ठप्प
अ+ अ-

ढोरपाटन । तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिने बित्तिकै खुलाउने गरे पनि ग्रामीण सडक ठप्प छन् । ग्रामीण सडक ठप्प हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । ग्रामीण सडक एक महिनादेखि ठप्प छन् । सडक ठप्प हुँदा ग्रामीण क्षेत्रबाट बिरामी अस्पताल ल्याउनसमेत समस्या भएको छ ।

सोमबार रातिदेखि अवरुद्ध भएका राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि अहिले दुई तर्फ यातायात सञ्चालन भइरहेको छ । गाउँबाट मुख्य सडकमा पुग्नै निकै समस्या हुने गरेको तमानखोलाका स्थानीय भीमबहादुर रसाइलीले बताउनुभयो ।

उहाँले गाउँमा अहिले ज्वरो, रुघाखोकी लगायतका बिरामी बढ्दै गएको जनाउँदै पहिरोले सडक अवरुद्ध हुँदा उनीहरुलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको बताउनुभयो । उहाँले गाउँमा सडक नआउँदा बिरामीलाई मान्छेलेनै बोकेर अस्पतालसम्म पुर्‍याउने र सामान ढुवानी घोडा खच्चडदेखि गराउने गरेको भन्दै अहिले सडक पुगेर पनि अवस्था त्यही आएको गुनासो पोख्नुभयो । पहिले सामान ढुवानीका लागि प्रशस्त खच्चड पाइने गरेको जनाउँदै उहाँले अहिले नपाइँदा मान्छेले नै बोक्नुपर्ने अवस्था आएको बताउनुभयो ।

“पहिले–पहिले गाउँमा मोटरबाटो आएका थिएनन्, गाडी पनि आउँदैन्थे, केही वर्षयता हिउँदभरी गाडी दौडिन्छन्, बर्खा लाग्यो भने सुनसान हुन्छन्, गाडी नचल्दा हामीले धेरै दु:ख पाएका छौँ, गाउँको कोही सिकिस्त बिरामी पर्छ उसलाई छिटोछिटो अस्पताल कसरी लैजाने रु, बोकेर लैजाँदा बाटोमै मर्छ कि भन्ने डर हुन्छ”, रसाइलीले भन्नुभयो, “सहर बजारमा सबै सुविधा हुन्छ, त्यहाँ बाह्रै महिना गाडी गुड्छन्, हाम्रो दुर्गम गाउँमा छ महिना पनि राम्रोसँग गाडी गुड्दैनन् ।”

निसीखोलाका कमलमणी शर्माले सडकले हिउँदमा सुविधा दिए पनि बर्खामा दु:ख मात्रै दिएको गुनासो गर्नुभयो । अहिले लोकमार्ग बाहेक कुनै पनि सडकमा गाडी नगुड्ने जनाउँदै उहाँले टाढाटाढा जानु परे हिँडेर पुग्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । केही दिनदेखिको बर्खाले गाउँमा आएका सडक सबै भत्किएर ठप्प बनेको र स्थानीय पालिकाले तत्काल नखुलाउँदा हामी मारमा परेको उहाँ बताउनुहुन्छ । उहाँले सडक नआउँदा बर्खामा चाहिने सबै सामान वर्षा सुरु हुनुभन्दा पहिले नै जोहो गरेर राख्ने गरेको स्मरण गर्दै अहिले धेरैले पहिलेनै सामान जम्मा गरेर राख्न छोडेको बताउनुभयो ।

“पहिले–पहिले मोटरबाटो कतै थिएनन्, गाउँलेले बर्खा नलाग्दै, चामल, नून, तेल जोहो गरेर बर्खाभरी पुग्ने गरी राख्थे, त्यसरी जोहो गरेर राखेको सामान, म्याद गुज्रिएको हुन्थ्यो, सडक आएपछि धेरैले एकमुष्ट सामान जम्मा गरेर राख्न छोडे”, शर्माले भन्नुभयो, “बर्खा लागेको केही समय त गाउँमा गाडी आउँथे, अहिले त धेरै ठाउँमा पहिरो गएर बाटो सबै बन्द भएका छन्, दसैँ अगाडि बाटो खुल्दैन, त्यस बेलासम्म भोकै बस्न भएन, बोकेर भए पनि ल्याउनुपर्‍यो ।”

तमानाखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बस्ती बस्तीसम्म सडक पुर्‍याइएको र बर्खाको समय केही ठाउँमा पहिरो झर्दा यातायात निरन्तर चल्न नसक्दा स्थानीयलाई सास्ती भएको बताउनुभयो । आफूहरुले जोखिम न्यूनीकरण हुनेगरी सडक निर्माण गरेको भन्दै भारी वर्षाका कारण केही सडक अवरुद्ध भएको उहाँ बताउनुहुन्छ । पालिका केन्द्रदेखि गाउँ–गाउँमा पुग्ने सडकका बीचबीचमा धेरै खोला रहेको हुँदा गाडी चल्न नसकेको उहाँले बताउनुभयो ।

“पश्चिम बागलुङ अलि भौगोलिक रुपमा निकै जटिल ठाउँ छ, हिउँदमा गाडी चल्न कुनै समस्या हुँदैन, बर्खामा खोला बढ्ने र ठाउँठाउँमा पहिरो झर्ने हुँदा समस्या आउने गरेको छ, सबै ठाउँमा एकै पटक पुल बनाउन पनि नसकिने, पुल नबन्दा समस्या आउने”, उहाँले भन्नुभयो, “बाह्रै महिना सडक सञ्चालन गर्न आवश्यक ठाउँमा क्रमश: पुल पनि बनाउनका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गछौँ, अहिले बन्द भएका सडक खोलामा पानीको बहाव घट्दा साथ खुल्छन् ।”

पहिराले घरगोठ भत्कियो
तीन दिनदेखि परेको भारी वर्षाका कारण बागलुङको काठेखोलामा एक घर र गोठ भत्किएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका गोपाल थापाको घर र नरबहादुर मल्लको गोठ भत्किएको हो । पहिरोले घर भत्किएपछि थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

थापाको घर र गोठ भत्किँदा करिब रु सात लाख बराबरको क्षति भएको उहाँको भनाइ छ । पहिरो पीडितलाई आवश्यक राहतको व्यवस्था गरिने उहाँले बाउनुभयो । अहिले पनि भारी वर्षा भइरहेको हुँदा ग्रामीण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको अध्यक्ष लामिछानेले बताउनुभयो । रासस