२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?
अ अ+ अ-

काठमाडौ । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाई छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो । 

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि “भूमि कब्जा गर्न खोजेको” भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो ।  

यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमास विरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाई छ । 

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठूलो पारिवारिक क्षति व्यहोर्नु परेको थियो । उहाँले भन्नुभयो, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।” यो त प्रतिनिधि घटना मात्र हो । गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनु भएको छ । यस पटकको आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ । 

सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भिषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए । दुबै पक्षबीच युद्धबिराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले हालको युद्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिनु भएको छ । त्यसैले तत्कालै युद्धबिराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाईमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ । 

दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भएपनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहूले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशंका गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकू बिमान प्रयोग गरी गाजाका ३५ ठाउँमा बम हमला गरेका थिए । सेनाको भनाईमा यी हमलाहरु खासगरी हमास र इस्लामिक लडाकू विरुद्ध केन्द्रित छन् तर यी आक्रमणमा मारिनेहरु ज्यादातर महिला, बालबालिका र अरु सर्वसाधारण छन् । केही लडाकूहरु पनि मारिएका खबर सार्वजनिक भइरहेका छन् ।

इजरायली आक्रमणको प्रतिरोध गरिरहेका हमास लडाकूहरुले दक्षिणी इजरायली भूमिमा लगातार क्षेप्यास्त्र प्रहार गरेर परिस्थितिलाई अझ उत्तेजित बनाएका छन् । यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजार भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेका छन् ।   

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्तराज्य अमेरिकाले शान्त, व्यापक कुटनीतिक प्रयास जारी राखेको तथा आफूहरुले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले द्वन्द्वका बारेमा आफूहरुले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरु गरिरहेको बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै युद्धबिराम गर्न आग्रह गर्नु भएको छ । तर राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहूले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आतंकवादी हमलाको प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ताकि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाउन् । 

इजरायल र प्यालेस्टिनीको विवाद आआफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मेटाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ । अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौंदेखिको यो द्वन्द्व सम्भवत समाधानतर्फ उन्मूख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती बिस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा लडाकू समूहको उदयले द्वन्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ । बरु, इजरायल र हमासले एकअर्का विरुद्ध गरिरहेका जथाभावी हमलाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ ।