३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी
अ+ अ-

रामपुर । पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उहाँलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गर्नुभएका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक चुम्नुभयो ।

दक्षिण कोरियामा हालै सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै समालले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । गत असार तेस्रो साता सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फको ६० किलो मुनिको तौल समूहमा समालले स्वर्ण पदक जित्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उहाँको यो दोस्रो सहभागिता थियो । पदक जितेर नेपाल फर्किनुभएका उहाँ औधी खुसी हुनुहुन्छ ।

समाल भर्खर २१ वर्षको हुनुभयो । सिनियर खेलाडीले करातेमा प्राप्त गरेको सफलताले आफूलाई हौस्याएको उहाँको भनाइ थियो । आफूले पनि कहिले स्वर्ण पदक प्राप्त गर्न सकिएला भन्ने समाललाई लागिरहन्थ्यो । खेलमा अथक मेहनत, लगनशीलता र अनुशासनबिना सफलता प्राप्त गर्न असम्भव नहुने उहाँले बताउनुभयो । आफूले खेलमा यिनै कुरालाई ख्याल गर्दै लागिपरेको अनुभव सुनाउनुभयो ।

“कराते खेलमा सानैदेखि रुचि थियो, यसमै समर्पित छु, सक्दो मेहनत गरिरहेको छु”, उहाँले भन्नुभयो, “कोरियामा प्राप्त गरेको उपलब्धि मेरो जीवनका लागि महत्वपूर्ण रह्यो, यसले खेलमा थप हौसला मिलेको छ ।”

पदक जितेर देशको झण्डा फहराउन पाउँदाको खुसी जीवनकै महत्वपूर्ण क्षण रहेको उहाँले बताउनुभयो । फाइनल खेलमा समालले भारतीय खेलाडीलाई आठका विरुद्ध शून्य अङ्कले पराजित गर्नुभएको थियो । अरू देशका खेलाडीका तुलनामा नेपाली खेलाडी आर्थिक तथा प्रशिक्षणको अभाव झेल्नुपरेको कुराले उहाँलाई दु:खी बनाएको छ । कोरियाको अनुभव प्राप्त गरेपछि सरकारले खेल र खेलाडीको भविष्य सुनिश्चितताका लागि धेरै गर्न बाँकी रहेको समालले बताउनुभयो ।

“बाहिरको खेलाडीको तुलनामा नेपालका खेलाडीलाई राज्यले सम्मान र सहयोगमा चासो दिँदैन, आफ्नै लगानीमा प्रतिस्पर्धा गरेर खेल्न खेलाडी बाध्य छन्, पर्याप्त आर्थिक रकम नहुँदा आफैँले लगानी गरेर खेल्न समस्या हुँदा राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित हुनु परेको छ”, उहाँले दुखेसो पोख्नुभयो ।

रामपुर नगरपालिका–१ ठूलीबँेसी स्थायी घर भई हाल काठमाडौँमा अध्ययनसँगै खेलकुदमा लाग्नुभएका समालले करातेमा पाएको सफलतापछि यसमै ठूलो सपना बुन्नुभएको छ । कक्षा ३ सम्मको अध्ययन गाउँमै गर्नुुभएका उहाँ काठमाँडौँमा परिवारसँगै अध्ययन गर्न जानुभयो । काठमाडौँस्थित ह्वाइट हेभन एकेडेमीमा कक्षा ३ मा भर्ना भई अध्ययन सुरु गर्नुभएका उहाँले विद्यालयमा बिहान एक घण्टा कराते खेलमा सहभागी भएर सिक्न थाल्नुभयो । विद्यालयमै खेलकुदसम्बन्धी ज्ञान सिक्ने अवसरले उहाँलाई भविष्यमा राम्रो कराते खेलाडी नै बन्छु भन्ने प्रेरणा जागेको थियो ।

विद्यालयमा एक वर्षसम्म कराते सिक्नुभएका समालले परिवारको सहयोगमा विद्यालय समयबाहेक मनकामना डोजोमा आबद्ध भएर थप अभ्यास गर्नुभयो । नौ वर्षको उमेरदेखि नै कराते खेल्न थाल्नुभएका उहाँ अन्नत: भविष्यमा पनि यही विद्यामा लागेर देशको लागि खेल्ने र नाम चिनाउने अठोट बोकेर खेल्न थाल्नुभयो । खेलमा लगानी गर्न राज्य उदासीन बनेकामा उहाँले दु:ख लागेको बताउनुभयो ।

समालले भविष्यमा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर भाइलाई पनि कराते खेल्न हौस्याउनुभएको छ । राज्यले खेलाडीको मनोबल वृद्धि गर्न र खेलाडीलाई रोजगारको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । उहाँका अनुसार स्वदेशमा खेल क्षेत्रमा लागेर बाँच्ने आधार नहुँदा खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ । समालले स्थानीयस्तरसँगै विभिन्न स्थानमा भएका क्षेत्रीय, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । लगानी गरे नेपालले पनि खेलकुदमा उल्लेख प्रगति गर्न सक्ने उहाँको बुझाइ छ ।

पहिलो पटक समालले राष्ट्रियस्तरको करातेमा विसं २०७४ मा तेह्रथुममा प्रतिस्पर्धा गर्नुभयो । विसं २०७५ मा उहाँले बाग्लुङमा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको खेलमा सहभागिता हुनुभएको थियो । बाग्लुङमा विसं २०७६ मा भएको राष्ट्रियस्तरको प्रतियोगितामा समालले स्वर्ण पदक जित्नुभयो । यो उहाँको पहिलो पदक थियो । मलेसियाको क्वालालम्पुरमा भएको सातौँ केएल मेयर कपमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुभएका समालले बङ्गलादेश, मलेसिया र इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गर्नुभयो । सन् २०२३ मा ललितपुरमा भएको सेकेण्ड कृष्णप्रसाद भट्टराई मेमोरियल नेसनल कराते च्याम्पियनशिपमा उहाँले कास्य पदक जित्नुभयो ।

दक्षिण कोरियामा स्वर्ण पदक जितेपछि समाललाई रामपुर नगरपालिकाले रू एक लाखसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच उहाँलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गर्नुभएको हो ।

पाल्पाको रामपुरमा जन्मेर अन्तर्राष्ट्रियस्तरको खेलमा पहिचान दिलाउन सफल भएकामा सम्मान गरिएको नगर प्रमुख थापाले बताउनुभयो । “अन्तर्राष्ट्रियस्तरको कराते खेलमा स्वर्ण पदक जित्न सफल यमबहादुरको सफलताले मुलुकको पहिचान बनाएको छ । खेल क्षेत्रमा भविष्य बोकेर अगाडि बढेका खेलाडीलाई नगर सरकारले प्राथमिकता दिँदै खेलकुदका गतिविधि अगाडि बढाइरहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुदमा पहुँच नहुँदा राम्रा खेलाडीले अवसर नपाएको खेलकुद पत्रकार मञ्च पाल्पाका सहसचिव दुर्गेश मल्लले बताउनुभयो । स्थानीयस्तरमा अभिभावकले खेलकुदमा लगानी गर्न चासो नदेखाउँदा पनि खेल क्षेत्रमा लाग्नेको कमी रहेको उहाँको भनाइ थियो । समाजमा यमबहादुरको सफलताले आफ्ना सन्ततिलाई खेलकुदमा लगानी गर्नुपर्ने रहेछ भन्ने सकारात्मक प्रभाव परेको सहसचिव मल्लले बताउनुभयो ।

प्रतिस्पर्धात्मक खेलमा खेलाडी आफैँले लगानी गरेर खेल्नुपर्दा समस्या हुने गरेको उहाँले टिप्पणी गर्नुभयो । उहाँका अनुसार पारिवारिकको आर्थिक अवस्था कमजोर भएका राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित भएर अन्य पेसा, व्यवसायमा लाग्न बाध्य भएका छन् ।

रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा युवा, खेलकुद तथा मनोरञ्जन शीर्षकमा विभिन्न कार्यक्रम समेटेको छ । नगरको खेलकुद विकासलाई व्यवस्थित गरी युवा वर्गको सहभागिता वृद्धि गर्दै सक्षम खेलाडीको उत्पादन गर्ने उद्देशयले खेलकुद विकास समिति गठन गर्ने योजना अगाडि बढाइएको छ ।

‘मेयर कप अन्तर वडास्तरीय रनिङ शिल्ड’ प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रिय खेलहरु समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गर्ने, फुटबल, भलिबल र क्रिकेट आदि खेलका लागि प्रशिक्षणको समेत व्यवस्था मिलाइने, विभिन्न खेलकुदहरुमा सहभागी भई छानिएका खेलाडीहरुबाट नगरस्तरीय टोली बनाई अन्तर जिल्ला एवम् अन्तरपालिकास्तरीय खेलकुदमा सहभागी गराइनेलगायत योजना नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो ।

समुदायको लगानीमा निर्माण हुने खेलकुदका पूर्वाधारमा सहयोग गर्ने नीति अवलम्बन गरिने, प्रदेशस्तरमा खेलमैदान निर्माणको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग पहल गरिने, खेलाडीहरुको प्रोत्साहनका लागि विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई सम्मान एवं पुरस्कृत गरिने, राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीको दुर्घटना बीमा गरिनेलगायत कार्यक्रम आव २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरिएको रामपुर नगरपालिकाले जनाएको छ । रासस