तलतिर चिटिक्क मिलेको बस्ती । माथि हराभरा जंगल अनि जंगलको बीचमा सुन्दर पोखरी । पोखरीकै नामले परिचित ठाउँ लेखपोखरा ।
धेरै भएछ लेकपोखरा नपुगेको । यसपालि यहाँ पुग्दा बेग्लै आनन्दको अनुभूति भयो । साँच्चिकै पहिलेको भन्दा धेरै सौन्दर्यताको घुम्टो ओढिसकेछ लेकपोखराले यहाँ आउनेहरूका लागि आफनो सुन्दरताले मोहनी लगाउन । गाउँघरतिर बूढापाकाले भन्ने गरेको सुनिन्थ्यो कि जे कुराका लागि पनि समय (जुर्नु) मिल्नु पर्छ । यसपालिको हाम्रो समय जुराउने कामका सारथि बने रेखाकुमार जिसी । यस क्षेत्रको विकास र संरक्षणमा अहोरात्र खटदै आएका छन् यिनी जनप्रतिनिधिको रूपमा ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ मा अवस्थित लेकपोखरा क्षेत्र धार्मिक एवं पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । धार्मिक हिसाबले परापूर्वकाल देखिनै माघेसंक्रान्तिको अघिल्लो दिन मानिसहरू यहाँ जम्मा भै रातभर भजनकीर्तन, नाचगान गरी माघेसंक्रान्तिको बिहान यहाँ रहेको पोखरीमा स्नान गरी घर फर्कने चलन रहिआएको पाइन्छ । पोखरीको निर्माण कसरी भयो भन्ने कुरामा यहाँका स्थानीय ज्ञवाली परिवारका पुर्खाले चिम्टाले पोखरी खनी विभिन्न तीर्थस्थलबाट जल ल्याई यहाँको पोखरीमा मिसाएका थिए । त्यसै बेलादेखि यो तीर्थस्थलका रूपमा परिचित भएको स्थानीयहरूको भनाइ छ । यहाँ नुहाउनाले पापहरू नाश भै पूण्य मिल्ने जनविश्वास रहिआएको छ ।
पुरानो पोखरी जीर्ण बन्दै गइरहेकाले त्यस पोखरीलाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिँदै स्थानीयहरूले अहिले नयाँ आकर्षक पोखरी निर्माण गरेका छन् । आधुनिकताले प्रभाव पारेसँगै लेकपोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्तिमा स्थानीयहरूको सक्रियतामा तीन दिनसम्म मेला आयोजना गरिन्छ ।
स्थानीय र राष्ट्रिय कलाकारहरू जम्मा गरी सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै आएको छ । साथै स्थानीय कृषकहरूले उत्पादन गरेका कृषि सामाग्रीहरूको प्रदर्शनी मेलामा राखिने हुँदा कृषकहरूलाई उत्पादनको क्षेत्रमा थप प्रोत्साहित बनाउन यसले टेवा पुगेको छ ।
जाऊँ जाऊँ र बसौँ बसौँ लाग्ने लेखपोखरा क्षेत्रलाई कसरी अझ सुन्दर र आकर्षक बनाउने चिन्ता स्थानीयहरूलाई छ । त्यसैले त यहाँबाट रोजगारीका लागि स्वदेश तथा विदेशमा गएका व्यक्तिहरूबाट आर्थिक संकलन गरी यहाँ मन्दिरलगायत अन्य संरचनाहरू बनिरहेका छन् । यहाँ बनेको ऋषिकेशको मन्दिरले सबैलाई आकर्षित गरिरहेको छ ।
यहाँसम्म पुग्नका लागि अहिले रेलिङसहितको सिँढी निर्माण गरिएको छ । मालिका गाउँपालिका पालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रवर्द्धन र संरक्षणका लागि विशेष योजनाका साथ अगाडि बढेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल बताउँछन् ।
यहाँ निर्माण भइरहेका पर्यटन पूर्वाधारका लागि गाउँपालिका, स्थानीय बासिन्दाका साथै प्रदेश सरकारले सहयोग गरिरहेको छ । यति हुँदाहुँदै पनि थुप्रै संरचना निर्माण गर्नुपर्ने हुँदा यसको डिपिआर कार्य सम्पन्न गरी लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको वडा नं ५ का वडाध्यक्ष रेखाकुमार जिसी बताउँछन ।
यहाँबाट धौलागिरि हिमशृंखलाको अवलोकन गर्नुका साथै रोल्पा प्यूठान र बाग्लुङका सुन्दर दृश्य देख्न सकिन्छ । पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले यसै क्षेत्रको उल्टेढुंगा नजिकै भ्युटावरको निर्माण गरिएको छ । सबैका हातहातमा मोबाइल र सामाजिक संजालको अहिलेको आधुनिक जमानामा भ्युटावरबाट दृश्यावलोकनका साथसाथै सेल्फी खिच्नेहरूका लागि पनि यो स्थल रोचक र आकर्षकको केन्द्र बन्दै गइरहेको छ ।
पर्यावरण र जैविक विविधताका लागि पनि यो क्षेत्र निकै महत्त्वपूर्ण छ । यहाँ विभिन्न प्रजातकिा बोटबिरुवा पाइन्छन् । ऐँसेलु, चौतारी, म्याल, नास्पाती आदि प्रशस्त पाइन्छन् । आधुनिक प्रविधिको प्रयोग गरी म्यालको बोटमा नास्पातीका थुप्रै बोटहरू यहाँ देख्न सकिन्छ । गाउँपालिका र वडा कार्यालयले यसमा सहजीकरण गरिरहेका छन् ।
लेखपोखरा क्षेत्रमा यस भेगकै धार्मिक आस्थाको रूपमा रहेको मालिका देवीको मन्दिर पनि छ । शक्ति पीठको रूपमा रहेको यस मन्दिरमा नागदेवताको समेत बास रहेकाले यसको निर्माण र संरक्षणमा गाउँलेहरूले विशेष ध्यान दिएको वडाध्यक्ष रेखा जिसीको भनाइ छ । दशैँको कोजाग्रत पूर्णिमा र वैशाखे पूर्णिमामा मालिका देवीको मन्दिरमा विशेष पूजा गरिन्छ ।
मालिका मन्दिर भन्दा केहीमाथि सिद्धाथान भनेर चिनिने सिद्धको मन्दिर छ । यस भेगका बासिन्दाहरूको आस्थाको केन्द्रका रूपमा चिनिने सिद्ध मन्दिरमा पूजा गर्दा अर्याल मात्रै पुजारी हुने प्रचलन रहँदै आएको छ । नागपञ्चमी र जेठको पञ्चमीमा यहाँ पूजा गरिन्छ ।
लेक पोखराको सौन्दर्य र आकर्षण दिन प्रतिदिन बढदो छ । तर ध्यान दिनुपर्ने र गर्नुपर्ने कुरा के देखिन्छ भने यहाँसम्म सहज पहुँचका लागि बाटो अनि पदमार्गको सहज सुविधा, खानेपानीको उचित व्यवस्था, बाहिरबाट आउने पर्यटकहरूका लागि बस्ने बासको प्रबन्ध अनि यहाँको पर्यावरण र जैविक विविधताको संरक्षण । यसका लागि गाउँपालिका र स्थानीयहरूको थप सक्रियता आवश्यक देखिन्छ ।
यहाँबाट पूर्वतर्फ केही दूरीमा इस्मा गाउँपालिकामा अवस्थित तत्कालीन चौबिसे राजाको दरबार छ जहाँ अहिले इस्माकोट रहेको छ भने अर्कोतिर यसको पश्चिममा पर्ने मदाने गाउँपालिकाको पर्यटकीय स्थल कंके देउराली र धार्मिक आस्थाको मधाने मालिका पर्दछ । मालिका गाउँपालिकाको दक्षिणमा पर्ने धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा पनि आफैँमा विचित्र छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाहरूबीच समन्वय गरी कार्ययोजना अगाडि बढाउने हो भने आन्तरिक पर्यटनका लागि यो क्षेत्र नयाँ गन्तव्यस्थलको रूपमा विकसित हुने देखिन्छ ।