एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले हालै फेसन डिजाइनर रुपाली बरुवासँग विवाह गरेका छन् । अभिनेताको यो दोस्रो विवाह हो ।
आशिषले यसअघि अभिनेत्री राजोशी उर्फ पीलु विद्यार्थीसँग विवाह गरेका थिए र उनीहरु दुवैको एउटा छोरा छन् । पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने आशिष र रुपालीले एक क्लबमा कोर्ट म्यारिज गरेका थिए जसमा उनीहरुको परिवार र नजिकका साथीहरु पनि उपस्थित थिए ।
यसैबीच, आशिषकी पहिलो पत्नी पीलु विद्यार्थीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अनौठो पोस्ट सेयर गरेकी छिन् ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै पीलुले लेखेकी छिन्, ‘याद राख्नुहोस्, सही व्यक्तिले तपाईलाई उनीहरुका लागि के भन्न खोजेको हो भनेर कहिल्यै सोध्ने छैन । उसले त्यस्तो कुनै काम कहिल्यै गर्नेछैन, जसले तपाईलाई पीडा दिन्छ किनभने उसलाई यो थाहा हुनेछ ।’
आशिषको विवाहको तस्बिर सार्वजनिक भएको केही घण्टापछि अभिनेत्रीले यसप्रकारको पोस्ट सेयर गरेकी हुन् । पीलु प्रसिद्ध अभिनेत्री शकुन्तला बरुआकी छोरी हुन् ।
अर्कोतर्फ ६० वर्षको उमेरमा दोस्रो विवाह गरेकोमा आशिषले भने, ‘जीवनको यो चरणमा रुपालीसँग बिहे गर्नु मेरो लागि फरक अनुभूति हो । हामीले बिहान अदालती विवाह गरेका थियौं र बेलुका नजिकका मानिसहरूका लागि गेट टुगेदरको आयोजना गर्यौं ।’
आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।