२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले पारित गर्ने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप



अ+ अ-

बुटवल । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई पत्र पठाइएको प्रमुख सचेतक ढेंगाले जानकारी दिइन् ।

जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगाबाहेकका ४ जना पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको छ ।  

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ ।