२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव कुमार नेपाल शेरबहादुरको कार्यकर्ता र प्रचण्डको पुच्छर हो- प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पुच्छर भएको टिप्पणी गर्नुभयो । नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेर बहादुर देउवा प्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वईन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वईन गर्नुनै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुलाहा कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “यीनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पुर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पुर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । काग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ ।” उहाँले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भईरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिष्ठ आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेताहुँ भनेर हिड्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसावले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।” प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “राजनीतिक कार्यकर्ताहरुलाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण । र झुट र वेइमानीको सहारा लिने । केही मान्छेहरु अहिले हामीले देखिराखेका छौ । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो र्विसिए । सम्मृद्ध नेपाल सुखी नेपाली उहाँहरु उच्चारण पनि गर्नुहुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अंहकारहरु, महत्वकाक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन ।”