२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको समुद्री ताप उच्च विन्दुमाः अध्ययन



अ+ अ-

एजेन्सी । सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, संयुक्त राज्य अमेरिका र इटालीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो ।

“सन् २०२१ को तुलनामा पृथ्वीको महासागरको माथिल्लो दुई हजार मिटरको माथिल्लो भागले ठूलो मात्रामा ताप सोसेको छ । यो तापक्रमले १.५ लिटर पानी भएका ७० करोड केटल उमाल्न पर्याप्त हुन्छ,” अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धाता चेङ लिजिङले भने ।

विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक हो । समुन्द्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङको थप प्रमाण भएको वैज्ञानिकको विश्वास छ ।

सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । विश्वव्यापी तापक्रम वृद्धिका लागि महासागरको ढिलो प्रतिक्रियाका कारण समुद्रको तापक्रमको प्रवृत्ति दशकौँसम्म कायम रहने चेङले उल्लेख गरे ।

उनले भने, “तापमानको अलावा, अध्ययनले समुद्रको पानीको लवणताको पनि गणना गरेको थियो । अध्ययनले उच्च नूनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको देखाएको छ । यद्यपि कम नूनिलो भएको क्षेत्रमा नतिजा ठीक विपरीत छ । ‘लवणमा थप नूनिलोपन थपिन्छ भने ताजा पानी भएको क्षेत्र थप ताजा हुन्छ’ भन्ने प्रवृत्ति पनि सन् २०२२ मा रेकर्डकै उच्चस्तरमा पुगेको छ ।” अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँछ र शक्तिशाली आँधी र तुफानको रूपमा अधिक उग्र मौसमलाई निम्त्याउँछ । तिनीहरू कार्बन अवशोषित गर्न पनि कम कुशल हुन्छन्, जसले गर्दा अधिक मानव–उत्सर्जित कार्बन डाइअक्साइड वायुमण्डलमा रहन्छ र यसले विश्वव्यापी तापक्रमलाई बढाउँछ ।

“समुद्रको ताप र लवणतामा हुने परिवर्तनको बारेमा राम्रो जागरूकता र ज्ञान जलवायु परिवर्तनसँग जुध्ने कार्यको लागि एक आधार हो,” चेङले अध्ययनको महत्वको व्याख्या गर्दै थपे ।

वैज्ञानिकले चिनियाँ संस्थान र अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले गत वर्ष रेकर्ड गरेको समुद्री तथ्याङ्क पनि अध्ययनमा सार्वजनिक गरेका छन् ।