काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध नामिबियिका ब्याटर माइकल भान लिंगेनले सानदार शतक हानेका छन् ।
माइकलले १ सय २१ बलमा ६ चौका र ५ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका हुन् । यो उनले ओडिआई करिअरको तेस्रो शतक हो । उनले यसअघि पनि नेपालविरुद्ध डिसेम्बरमा भएको खेलमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको छ । कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए । जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको क्याचबाट जेरार्ड आउट भएका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए ।त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए ।
यस्तै, सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरेका थिए । विकेटपछि सन्दीप मैदानमा भावुक बनेका थिए ।