२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाला जुत्ता व्यवसाय सङ्कटमा



अ+ अ-

टीकापुर । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन् । व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन् ।

जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन् । अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताउनुभयो । यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन् ।

छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन् । यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन् । विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा हुनुहुन्छ । “लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो”, उहाँले भन्नुभयो, “अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु । श्रीमतीले यो व्यवसाय धान्नेछिन् ।”

केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा हुनुहुन्छ । “मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ । सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ । तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन ।”

टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन् । यहाँ करिब ४० जनाले रोजगारी पाएका छन् । यहाँ छालाका जुत्ता हातैले बनाइन्छन् । लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन् । छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन् । टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन् । महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँं पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमान्को सहयोगीका रूपमा काम गर्छन् ।

सन्तोषी नेपालीका श्रीमान्ले लामो समयदेखि छाला जुत्ता पसल गर्नुभयो । यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उहाँ हाल विदेशमा हुनुहुन्छ । अचेल पसल उहाँकी श्रीमती सन्तोषीले चलाइरहनुभएको छ । सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउनेसमेत गर्नुभएको छ । “श्रीमान्बाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उहाँ विदेश जानुभयो”, सन्तोषी भन्नुहुन्छ, “साँझ–बिहान घरको काम गर्छु । दिउँसो पसल आफैँले चलाएकी छु । जुत्ता बनाउन पनि सिकेकी छु । पसल चलेको छ ।”

पूजा नेपालीले पनि लामो समयदेखि श्रीमान्सँगै सहयोगीका रूपमा काम गरिरहनुभएको छ । उहाँले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिक्नुभएको हो । पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ । उहाँ नयाँ काम गर्नुहुन्छ, उहाँकी श्रीमतीले पुरानो मर्मतको काम गर्नुहुन्छ । “मेरो श्रीमती पसलमा सघाउँदा मलाई कामदार राख्नुपरेको छैन । अब उनलाई यो काम राम्ररी सिकाएर म पनि विदेश जाने तयारीमा छु”, उहाँले भन्नुभयो ।

जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन् । टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन् । तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ । टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको खपत यही हुन्छ । पछिल्लो समय आधुनिक जुत्ता चप्पल भित्रिँदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ । रासस