५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकेदारको लापरबाहीका कारण तीन वर्षमा चौध प्रतिशत मात्र कालोपत्र



अ+ अ-

तनहुँ । जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्र गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो ।

रु तेइस करोड दुई लाख ८० हजारमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु तीन करोड चार लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो ।

थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उहाँले बताउनुभयो ।

पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए । उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

कार्यालयबाट पटक–पटक पत्राचार गर्नाका साथै फिल्डमा गएर काम गर्ने विषयमा माइन्युट गरेपनि अटेर गर्दै आएको उहाँको गुनसो थियो । कार्यालयका तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ । प्रमुख घिमिरेले भन्नुभयो “चाँडो निर्माण सम्पन्न गर्न ताकेता गर्ने कार्यलाई निरन्तरता पनि दिँदै आएका छाँै ।”

थपिएको म्यादमा सात महिना वितिसकेको छ । म्याद सकिन लगभग पाँच महिना मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । उक्त सडक निर्माण भए भानुनगरपालिकाको १२ र १३ वडा तथा व्यास नगरपालिकाको ८ र ९ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण कम्पनीका प्रतिनिधिले हरेक बैठकमा दुई दिनभित्र आवश्यक कामदार र सामग्री ल्याएर निर्माण कार्यलाई तीब्रता दिने भनि माइन्युट गरेपनि पटक–पटक झुटो आश्वासन दिएर उपभोक्तलाई झुकाउने कार्य गरेको उपभोक्ता गुरुङले बताउनुभयो । रासस