२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस



अ+ अ-

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।

गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताए ।

“हालसम्म हामीले आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकेका छौँ । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ”, निरौलाले भने, “तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ ।”

उनका अनुसार चिसेन्जी र तुइन खोलामा आठवटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ । सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठवटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो ।

सो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ । अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् । तराईलाई राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले रु एक अर्ब २५ करोडमा विसं २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो । यसको काम सक्नुपर्ने समयावधि २०७९ पुस ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ ।

यो अवधिमा खहरेखोला, खोरखोला, लामो बालुवा खोला, भोर्लेखोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चेखोलामा गरी नौवटा पुल निर्माण भइसकेका छन् । पाँचवटा पुल निर्माणाधीन छन् । जसमा जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ ।

सवारी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ । त्यसैका आधारमा फागुनपछि पनि दिउँसो सवारीसाधान बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । “फागुन ५ गतेसम्म तुइनखोलाको दायाँ भागको भित्तो काट्ने काम सकिने अवस्था छैन”, उनले भने, “तत्कालको अवस्था हेर्दा कडा खालको चट्टान छ, माघको अन्तिम सातासम्म कामको अवस्था हेरेर दिउँसो बन्द गर्ने/नगर्ने निर्णय गर्छौं ।” रासस