• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बालुवाटारमा हस्ताक्षर हुन नपाएको त्यो पत्र…



काँग्रेस माओवादीको गठबन्धन भत्किएर बनेको वर्तमान सत्ता उलटफेरभित्र खोजीपसे निकै रोचक घटनाहरु भेटिन्छन् ।

यसैक्रममा भेटिएको छ एउटा पत्र जो मस्यौदा मात्र भयो हस्ताक्षर हुन पाएन । पत्र बालुवाटारमै मस्यौदा भएको थियो र मस्यौदाकार थिए अघिल्लो सरकारका प्रवक्ता । शेरबहादुर देउवा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की देउवाका विश्वासपात्र हुँ भन्छन् । यिनै विश्वासपात्रप्रति देउवाले गरेको विश्वासले नै देउवाको जहाज डुबेको निष्कर्ष यतिखेर सबै काँग्रेसीले निकालेका छन् ।

उनी त्यो हैसियतको क्षमता राख्ने व्यक्ति नभएको र उनको असक्षमताका कारण नै काँग्रेसले निर्वाचन गराई संघर्ष गरेर सबैभन्दा ठूलो दल बन्न सफल भएको भए पनि मुखैमा आएको भाग खोसिएको थियो । यिनै कार्कीको मायाजालमा देउवा फस्दा काँग्रेस सत्तारोहणबाट वञ्चित मात्र भएन पार्टीभित्र देउवाको व्यापक मात्रामा आलोचना पनि भएको छ ।

पत्र गएको आइतबार मस्यौदा गरेका थिए कार्कीले, जबकि त्यो पत्रको कुनै अर्थ नै थिएन । गएको शनिबार राति बालकोटमा वर्तमान सत्ताको लगभग बाँडफाँड नै भएको थियो । प्रचण्ड प्रधानमन्त्री, एमालेका भागमा राष्ट्रपति र सभामुख अनि मन्त्रिमण्डल आपसी सहमतिबाट । तर पनि अन्तिम अर्थात् निर्णायक बैठक भन्दै प्रचण्ड आइतबार बालुवाटार पुगेका थिए । उनलाई थाहा थियो काँग्रेसले प्रधानमन्त्री छोड्दैन भन्ने तर पनि प्रचण्ड जिद्दी गरिनै रहेका थिए । उनको त्यो रणनीति नदिए बालकोटको सहमति छँदैछ भन्ने नै थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको एक हप्ताको समय त्यसैदिन सकिँदैथियो । यदि त्यस दिन दुई वा त्यो भन्दा बढी दलले सरकार नबनाएमा संविधान बमोजिम सबैभन्दा ठूलो दललाई सरकार निर्माणको आह्वान राष्ट्रपतिले गर्नुपर्ने थियो । यता समय घर्किँदै थियो उता प्रधानमन्त्री छोड्न प्रचण्ड सहमत थिएनन् ।

तर आज पनि प्रचण्डले प्रधानमन्त्री छोड्न तयार नभए के गर्ने भन्ने जुक्ति कार्कीले बिहानै निकालेका थिए । उनले त्यस दिन पनि प्रचण्डले सहमति नगरेमा सरकार निर्माणका लागि थप एक हप्ता म्याद राष्ट्रपतिबाट थपाउने जिम्मेवारी आफूले लिएका थिए । उनले पार्टीकै बैठकमा अघिल्लो सत्ता गठबन्धनका चार दलका नेताको हस्ताक्षर हुनेगरी राष्ट्रपतिलाई दिने सो पत्र मस्यौदा गरेका थिए । राष्ट्रपतिले म्याद नथप्ने आशंका देउवाले गरेता पनि ‘राष्ट्रपति मेरो आफन्त भएकाले त्यो काम म गराउँछु’ भनेर कार्कीले नै जिद्दी गरेका थिए ।

तर त्यो मस्यौदामा नै सीमित रह्यो, हस्ताक्षर हुन पाएन । सत्तामा उनी सरकारका प्रवक्ता अनि अर्का बालकृष्ण खाँण गृहमन्त्री । उनीहरुलाई नै थाहा भएन बालकोटमा माओवादी नेताहरुले केही दिनदेखि डिनर खाँदै सहमति गर्दै गरेको । शनिबार राति उता सत्ता बाँडफाँडको सहमति भैसक्यो तर यी कार्की भने बेखबर भएर बालुवाटारमै बसिरहन्थे । देउवाले विपक्षी दलहरुसँगको वार्ता होस् या सत्ता गठबन्धनका बैठकहरुमा पनि उनैलाई विश्वास गरेर पठाउने गर्दथे । तर उनले विपक्षी गठबन्धन बुझ्दैनथे, केवल काँग्रेसका तर्फबाट सहभागी मात्र हुने गर्दथे । कतिपय बैठकहरुमा पार्टीका महामन्त्रीलाई पनि लैजानुपर्ने पदाधिकारीको सुझावमा उनी रुखो बन्ने गर्थे । खासगरी गगन थापालाई कुनै पनि काम या बैठकमा सहभागी बनाउँदा उनी रिसाउँथे ।

यिनको पछिल्लो सोच के थियो भने एक हप्ता समय थपाउने र त्यसबीचमा प्रधानमन्त्री नदिने भनेर प्रचण्डलाई गलाउने । तर उनको यो लाटो हिसाब कामै लागेन । यता यिनले यस्तो केटौले रणनीति बनाइरहँदा उता प्रचण्डले भने प्रधानमन्त्री बन्ने सहमति केही दिन अघि नै गरिसकेका थिए ।