१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने सोच राख्दैनः उपमहासचिव रिमाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताउनु भयो । उहाँले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुुपर्दछ । प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसावले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ । राष्ट्रपति भन्नुस्, उपराष्ट्रपति भन्नुस् । सभामुख, उपसभामुख भन्नुस् । राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष भन्नुस् । प्रदेश प्रमुख, सभामुख भन्नुस् । यी सबै चिजहरु साझा भुमिका निर्वाह गर्ने महत्वपूर्ण अंगहरु हुन् । त्यसपछि संवैधानिक निकायका धेरै कुराहरु पनि आउँछन् । यी सबै कुराहरुमा कसरी समझदारीमा अघि बढ्ने भन्ने कुरा चाहीँ गठबन्धनमा रहेका नेता, नेपाली काँग्रेसले सोच्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सोचिएन भने अंक गणितले निर्धारण गर्नेकुरा हो गरिहाल्छ । त्यसमा हामीले धेरै टिप्पणी गर्न सक्दैनौं । तर त्यसले ल्याउने असमझदारीले चाहीँ मुलुकमा अस्थिरता आउँछ । यसले मुलुक हीत गर्दैन । राजनीतिप्रति वितृष्णा बढ्छ । त्यो नहोस् भन्ने हाम्रो चाहना हो ।’

गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बतााउनु भयो । उहाँले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भनेपनि ६ प्रतिशत भोट घटेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनैपनि राजनीतिक कल्पना नै नगरेको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताउनु भयो । उपमहासचिव रिमालले धनुषा २ नम्बर क्षेत्र, कपिलवस्तुको २ नम्बर र दाङ २ नम्बर क्षेत्र लगायतका केही ठाउँमा अनपेक्षित रुपमा नतिजा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला कुरा गर्दा भनेको थिएँ हामी ६ प्रतिशत मत वृद्धिको अभियानमा छौं । ६ प्रतिशत मत वृद्धि हुँदा एमालेले बहुमत ल्याउँछ मैले भनेको थिएँ । तर, हाम्रो ६ प्रतिशत मत वृद्धिमा चाहीँ रोकावट आयो । ६ प्रतिशत मतमा गिरावट आयो । त्यसमा हामीले नदेखेको पक्ष के थियो भने स्वतन्त्र पार्टीले कति मत ल्याउँछ भन्नेमा चाहीँ हामीसहित धेरै पार्टीहरुले यति धेरै मत ल्याउँछ भनेर हिसाव गरेको थिएनन् ।

त्यो पक्षको हिसाव नगर्दाखेरी यस्तो परिणाम आयो । राप्रपाले केही मत बढाउँछ भन्ने थियो । जसपा मुस्किलले राष्ट्रिय पार्टी बन्ला । तर, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी पनि बन्छ र त्यसले धेरै मत ल्याउँछ भन्ने प्रारम्भिक हाम्रो हिसाव थिएन । त्यो हिसावले गर्दा हाम्रो ६ प्रतिशत मत वृद्धिमा कटौति भएको छ । मैले चुनाव हुनु एक हप्ताअघि मिडियासँग कुरा गर्दा एउटा कुरा भनेको थिएँ । काँग्रेस र हामी अहिले पचासको दौडमा छौँ । ५०/५० जितिसक्ने स्थितिमा । ७० सिट प्राप्त गर्न दौडिँदै छौँ । जसले ७० कटाउँछ, उसले ८० पनि पु-याउँछ । जुन पार्टीले ७० सिट ल्याउन सक्दैन, त्यो ६० भन्दा तल नै रहन्छ भनेको थिएँ मैले । त्यो हिसावले हेर्दा काँग्रेस पनि ६० सिट तल नै रह्यो । हामी त ५० पनि पुगेनौं । ५० चाहीँ पुग्छौं भन्ने मलाई किन पनि लागिराखेको थियो भने धेरै अनपेक्षित सिटहरु गएका छन् ।

मैले नाम नै लिएर भन्नुपर्दा धनुषा २ नम्बर क्षेत्र हामीले हार्ने ठाउँ नै होइन । त्यो जबरजस्ती हारिएको घोषणा गरिएको छ । यद्यपि सो निर्णयलाई हामीले स्वीकार गरेका होलाऊँ । त्यसपछि कपिलवस्तुको २ नम्बर हामीले हार्ने ठाउँ नै होइन । त्यो गएको छ । हाम्रो महासचिव नै उठेको ठाउँ, त्यो हार्ने ठाउँ नै थिएन । त्यो हामीले हारेका छौं । यस्ता केही सिट, जसले ५० सिट कट्थ्यो । ती सिटहरु गएका छन् । झन्डैझन्डै हाम्रा ३६ जना उम्मेदवारहरुमाथि हराउने लिस्ट बनाएर क्याम्पियन नै चलाइएको थियो । जसमा आधिजसो साथीहरुले पराजय भोग्नुपरेको छ । जसले गर्दा पनि हाम्रो संख्या मिलिरहेका छैन । अब प्रतिशत डाउनको हिसावले हेर्दा चाहीँ मैले कसरी व्याख्या गर्छुु भने ६ प्रतिशत कम भएको छ हाम्रो पपुलर भोट, २०७४ सालको तुलनामा ।’

उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भएपनि अंक गणितका हिसावले ठूलो बन्न नसकेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेमा स्वतन्त्रताको भिन्नता रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस गठबन्धनमा रहेका कारण स्वतन्त्र बन्न नसक्ने तर नेकपा एमाले भने आफू अनुकूलको निर्णय गर्नसक्ने बताउनु भयो । उहाँले अहिलेको गठबन्धन जनताहरुबाट अस्वीकृत भएको कुरा निर्वाचन परिणामले देखाइसकेको बताउनु भयो ।

उपमहासचिव रिमालले नयाँ सरकारका लागि काँग्रेस गठबन्धनमा रहेका कारण सहजै बहुमत बनाउने स्थितिमा रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै काँग्रेस गठबन्धनमा रहेकाले नेकपा एमालले तत्काल नयाँ सरकारका लागि पहल गर्छ भनेर सोच्नु नहुने बताउनु भयो । उहाँले गठबन्धनमा रहेका पार्टीहरु स्वतन्त्र नहुन्जेलसम्म नेकपा एमालेले सरकार बनाउनका लागि पहल नगर्ने बताउनु भयो । उपमहासचिव रिमालले गठबन्धन सत्तापक्षमा रहे उसले विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गए देशमा स्थिरता आउने बताउनु भयो । असहमतिमा गठबन्धन अघि बढे राजनीति झनै अस्थिरताको चक्रमा जाने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई अहिले प्राप्त जनादेश यदी लार्जेस्ट पार्टी भएको भए लिड गरेर जान सकिन्थ्यो । जनमतको हिसावले लार्जेस्ट पार्टी त भयौँ । तर अंकगणितको हिसावले हामी दोस्रो ठूलो पार्टी भयौँ । काँग्रेस लार्जेस्ट पार्टी भयो । काँग्रेस र हामीमा अहिले के भिन्नता हो भने हामी स्वतन्त्र हौं । हामी आफू अनुकूलको निर्णय गर्नसक्छौं । काँग्रेस गठबन्धनमा बाँधिएको छ । काँग्रेससँगै तेस्रो लार्जेस्ट पार्टी माओवादी पनि गठबन्धनमा बाँधिएको छ । नेकपा एस पनि बाँधिएको छ । र, लोसपा पनि बाँधिएको छ । यी केही पार्टी सरकार बनाउने निर्णय गर्नका लागि स्वतन्त्र छैनन् । अहिलेको जनादेश भनेको चाहीँ गठबन्धनले पनि बहुमत पाएको छैन । थोरै सिट कम उसले पनि बहुमत पाएन । यो गठबन्धन अस्वीकृत भएको हो ।

तर कुनैपनि पार्टीले बहुमत नपाएको र ल्याण्डमार्क लार्जेस्ट पार्टी पनि नभएको हुनाले मिलेर काम गर्नुपर्ने जनादेश हो । अब हेर्दाखेरी दुवै लार्जेस्ट पार्टी एमाले र काँग्रेसको आधार उस्तै देखिन्छ । एक प्रतिशत जति फरक छौं हामी र काँग्रेस । हामी अहिले सरकार गठनका लागि संख्या पु¥याउने सुगमतामा छैनौं । किनभने गठबन्धन रहेसम्म उसलाई सजिलो छ हामीलाई भन्दा । गठबन्धनले ५÷७ सिट जम्मा गर्दाखेरी उसको बहुमत पुग्छ । १३८ को म्याजिक नम्बर उसलाई पुग्छ । तर हामीलाई पुग्दैन । त्यसो भएको हुनाले जबसम्म गठबन्धन रहिरहन्छ, ती पार्टीहरु स्वतन्त्र छैनन् । पार्टी स्वतन्त्र नभएपछि अरु विकल्पमा कुरा हुँदैन । अरु विकल्पमा कुराकानी नहुने भएकाले एमालेले सरकार बनाउने कि भनेर सोच्नु चाहीँ उचित हुँदैन । त्यो चाहीँ बेठिक हुन्छ जस्तो हामीलाई लाग्दछ । एमालेको दृष्टिकोण त्यहाँ रहन्छ ।

यदी गठबन्धन भित्रका दलहरु पनि हामी जत्तिकै स्वतन्त्र भए भने चाहीँ यहाँले भन्न भएजस्तै सरकार गठनका लागि सरकार गठनका लागि ३/४ वटा विकल्प रहन्छ । एउटा विकल्प दुुई वटा राष्ट्रिय शक्ति मिलेर मुलुकमा स्थिरता दिऊँ भन्ने हिसावले काँग्रेस र एमालेको सहमतिको सरकार । अर्को विकल्प वामपन्थीहरु सबै आउट भएर काँग्रेसको नेतृत्वमा गैर वामपन्थीको सरकार बन्ने । गैर वामपन्थी आउट भएर एमालेको नेतृत्वको वामपन्थी प्लसको सरकार बन्ने तेस्रो विकल्प । र, अर्को विकल्प भनेको चाहीँ दुवै तिरको सुगमताका साथीहरु मिलेर बनाउने । यी खालका परिदृश्यहरु आउन सक्थे । अब अहिले त ती परिदृश्यहरुलाई पनि गठबन्धन भंग नभएकाले सुविधा छैन । गठबन्धनमा रहेका साथीहरु त बहुमत जुटाउन लागिरहनुभएकै छ । मैले हिजो मात्रै प्रचण्डजीको एउटा न्युज पढेको थिएँ–६० सिट म कमाण्ड गर्छु भनिरहनुभएको छ । उहाँले ६० सिट कमाण्ड गर्नुभयो । र, उतातिर ८९ सिट भएको काँग्रेस त्यही रह्यो भने उहाँहरुलाई बहुमत पु-याउन सुविधा छ । उता बहुमत पुग्छ भने हामीले सरकार बनाउछौं भनेर हिसाव गर्नु उपयुक्त हुँदैन ।

त्यसकारण हामीले राजनीतिमा यो नै अंकगणिको हिसाव गर्नुपर्छ होला जस्तो लाग्छ । मैले एउटा शब्द प्रयोग गर्दै आएको छु–सरकारको नेतृत्व गर्ने र राज्य सञ्चालन गर्ने अलग कुरा हो । राज्य सत्ताका दुई वटा पाटो रहन्छ । एउटा सत्तापक्ष र अर्को विपक्ष । यदी गठबन्धन सत्तापक्षमा रहन्छ भने उसले विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गयो भने स्थिरता आउन सक्छ । असमझदारी भएको खण्डमा मुलुकले पनि दुःख पाउँछ । र, राजनीति बढी अस्थिरताको चक्रमा जान्छ भन्ने मलाई लाग्दछ ।’

उपमहासचिव रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताउनु भयो । उहाँले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दापनि गठबन्धनको भुमिकालाई नियालीरहेको बताउनु भयो । उहाँले एउटा स्थितिमा पुगेर गठबन्धन टुट्ने दाबी गर्दै गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने बताउनु भयो । गठबन्धन कायमै रहँदासम्म नेकपा एमाले रचनात्मक विपक्षीको भुमिकामा रहने बताउनु भयो । विपक्षमा रहँदा सरकारमा नजाने दलहरुसँगको सहकार्य बढाउने र एजेण्डालाई व्यवस्थित गर्नमा पार्टी लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा चाहीँ एमाले सधैँभरी स्थिरताको पक्षमा छ । अहिले पनि हामी स्थिरताको पक्षमा छौं । स्थिरताका लागि के गर्नुपर्छ एमाले तयार छ । हामी जत्तिकै नेपाली काँग्रेसले पनि सोचोस् भन्ने हामी भन्न चाहन्छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा हामीलाई सबै थाहा छ । उसका दृष्टिकोण, दर्शन, जान चाहेको बाटो सबै हामीलाई थाहा छ । हामी उनीहरुसँग संवाद गर्नसक्छौैं । तर, राष्ट्रिय स्वतन्त्र पार्टीबारे चाहीँ हामीलाई सबै थाहा छैन । त्यसको सभापतिको बारेमा हामीलाई जानकारी छ । उहाँ पहिला मिडियाकर्मी हुनुहुन्थ्यो । र, उहाँ चर्चित हुनुहुुन्छ । त्यो बाहेक अरु नेताहरुको बारेमा हामीले बुझ्न बाँकी नै छ । र, उहाँहरुले हामी यसरी जान्छौं भनेर सार्वजनिक रुपमा भन्नु पनि भएको छैन । त्यो नभनेसम्म हामी उहाँहरुको बारेमा धेरै बोल्न पनि सक्दैनौं । यसबारे धेरै बोल्ने हामीलाई ठाउँ पनि छैन । त्यसकारण सो पार्टीको धारणा हामीले पर्खिराखेका छौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा त हामी सम्भवतः सल्लाह गर्नसक्छौं । किनभने हामी चुनावमा तालमेलमा पनि थियौँ । राप्रपा पनि सरकार बनाउनु पर्छ भनेर हिँडिरहेको छैन । हामीले पनि सरकार बनाउने भनेर भनिराखेका छैनौं । हामी चाहीँ अहिले ध्यानपूर्वक गठबन्धनको भुमिकालाई नियालीरहेका छौं । गठबन्धन टुटछ, एउटा स्थिति आउँछ । फेरि विकल्पबारे छलफल होलान् । गठबन्धन कायमै रहँदा हामीसँग एउटै विकल्प कायम रहन्छ–रचनात्मक विपक्षको भुमिका निर्वाह गर्ने । त्यसका लागि सरकारमा नजाने दलहरुसँग राम्रो सहकार्य गर्छ र एमालेले एजेण्डालाई व्यवस्थित गर्छ ।’
उपमहासचिव रिमालले असमझदारीले नै मुलुक र राजनीतिमा वितृष्णा बढ्ने बताउनु भयो ।