२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार घाटा घटाउन मौलिक हस्तकलाको प्रवर्द्धन गरौ: राष्ट्रपति भण्डारी



अ+ अ-

यस प्रकारका व्यापार मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धन गर्नमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

हस्तकलाका माध्यमबाट हाम्रो देशको प्राचीन सभ्यता‚ कला र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्नुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक‚ सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ । यसका साथै‚ हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आइरहेको हुनाले यस उद्योगलाई नेपालका लागि तुलनात्मक लाभको क्षेत्र मान्न सकिन्छ ।

मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अत्यावश्यक छ । नेपाली श्रम‚ सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । तसर्थ‚ निकासीमा आधारित हस्तकला उद्योगको विकासबाट हामीले यो लक्ष्य हासिल गर्न सक्दछौँ ।

अन्तर्राष्ट्रिय बजारमा निकासी तथा आन्तरिक बजारमा हुने कारोबार समेत गरी वार्षिक करिब २४ अर्ब बराबरको योगदान हस्तकला क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा गरिरहेको छ । नेपालले हाल व्यहोर्नु परिरहेको व्यापार घाटाको सन्दर्भमा हस्तकला जस्तो निर्यातमूलक उद्योगले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्दै व्यापार सन्तुलन कायम गर्नका लागि विशिष्ट योगदान पुर्‍याउन सक्दछ ।

देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेट्ने नेपाली हस्तकलाका सामग्रीहरूलाई संसारमै पृथक नमूनाका रूपमा स्वीकार गरिन्छ । तथापि नेपाली हस्तकला उद्योगलाई व्यापक उत्पादनको तहसम्म पुर्‍याउन, हाम्रा उत्पादनहरूको माग अनुरुप आपूर्ति गर्न तथा थप बजार विस्तार गर्न यस क्षेत्रमा आबद्ध सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको छ ।

नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विविध जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सहजै नक्कल गर्न नसकिने खालका छन् । यस प्रकारका उत्पादनको सुरक्षण अधिकार (पेटेन्ट राइट) लिने सम्बन्धमा समेत आवश्यक ध्यान पुग्नुपर्ने मैले ठानेको छु । यस प्रकारका परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न सबैको ध्यान जान आवश्यक छ ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भएपनि मान्य हुने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक निकायले प्रयोग गर्ने मालसामान वा वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ । यस प्रकारका नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सके यसबाट स्वदेशी हस्तकला उद्योगको विकासमा टेवा पुग्न सक्दछ । वातावरणमैत्री विकास, दिगो आर्थिक प्रगति तथा समावेशी विकासका लागि नेपाली हस्तकला उद्योगको विकास र विस्तारका लागि सार्वजनिक नीतिहरू अझ अनुकूल र सहज बनाउन नेपाल सरकारको निरन्तर ध्यान जाने मैले अपेक्षा लिएको छु ।

नेपाली वस्तुहरू प्रयोगमा ल्याउनका लागि हामी स्वयं जागरुक भई आफ्नै उत्पादनको उपभोग गर्ने प्रचलन बसाल्न आवश्यक छ । नेपाली उत्पादनको प्रवर्द्धन कार्यमा विदेशमा विभिन्न पेशा र व्यवसाय गरेर बस्ने नेपालीहरूले समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्दछन् । यसका लागि सम्बन्धित पक्षले आवश्यक पहल गर्नु पर्दछ ।

हस्तकला उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं व्यक्तिहरूले रोजगारी पाएको भएतापनि यस व्यवसायमा युवाहरुको आकर्षण बढ्न नसकेको तथा श्रमिकहरूको अभाव हुने गरेको गुनासो सुन्ने गरिएको छ । मुलुकमा विद्यमान बेरोजगारीको समस्यालाई समाधान गर्न एवं युवा जनशक्तिको पलायनलाई रोक्न यस क्षेत्रमा आवश्यक पर्ने सीपमूलक तालिम एवं व्यावसायिक शिक्षालाई पनि समान रूपमा प्रवर्द्धन गर्दै लैजान आवश्यक छ । प्रत्येक स्थानीय तहका मौलिक उत्पादनको पहिचान गरी सोहीअनुरुप शिक्षा र तालिम प्रदान गर्न सके हाम्रो युवा जनशक्तिका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने पक्षतर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधनको पूर्णपाठ




भर्खरै